काठमाडौं । संसदीय समितिका सभापतिको गाडी खरिदको छानविनले तीब्रता पाएको छ । थन्किएका गाडीका विषयमा छानबिन गर्न बनेको समितिले संसद सचिवालयबाट फाइल झिकाएसँगै छानविनले गति लिएको हो ।

एक हप्ताअघि बनेको छानबिन समितिको बैठकले संसद सचिवालयबाट गाडी खरिदसँग जोडिएका सम्पूर्ण फाइल माग्ने निर्णय गरेको हो । दुई दिनभित्र फाइल उपलब्ध गराउनुपर्ने छानबिन समितिका संयोजक रामनारायण विडारीले बताए । विडारीले, ‘हामीले अब छानबिनको काम सुरु गर्यौँ।’

समितिले गाडीको खरिदमा पनि अनियमिताको शंका गरेको छ । यो खरिदका विषयमा खरिद अनुगमन कार्यालयबाट सहसचिवको टोली बोलाएर सबै कागजपत्रको मसिनो अध्ययन गर्ने समितिले निष्कर्ष निकालेको छ ।समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट पनि विज्ञ इन्जिनीयरलाई बोलाएर गाडीको सबै पाटपूर्जाको अध्ययन गर्न लगाउने निर्णय भएको संयोजक बिडारीले बताए ।

संघीय संसद सचिवालयले सभापतिहरूका लागि एक महिनाअघि ११ वटा नयाँ स्कर्पियो गाडी खरिद गरेको थियो । तर, सभापतिले प्रयोग गर्नासाथ गाडी बिग्रन थालेपछि अनियमितताको शंकामा संसद सचिवालयले छानबिन समिति गठन गरेको हो ।

समिति सभापतिका लागि खरिद गरिएका गाडीमा स्टार्ट नहुने, ब्रेक नलाग्ने, साउण्ड सिस्टमले काम नगर्ने, झ्यालको सीसा नलाग्ने जस्ता समस्या देखिए । संसद सचिवालयको निरन्तरको ताकेतापछि अर्थ मन्त्रालयले बजेट रकमान्तर गर्दै नयाँ गाडी खरिदका लागि करिब ६ करोड बजेट उपलब्ध गराएको थियो ।
१६ संसदीय समितिमध्ये संसद सचिवालयले वैशाखमै पाँच समिति सभापतिलाई नयाँ गाडी उपलब्ध गराएको थियो । यस्तै, छानबिन समितिले ११ वटा गाडी प्रयोग गरिरहेका संसदीय समितिका सभापतिलाई समेत बोलाएको छ ।

उनीहरूले चढिरहेको गाडीको समस्या बुझ्नका लागि मंगलबार बैठक बोलाइएको संयोजक बिडारीले बताए । उनले भने, ‘उहाँहरूको गाडीमा देखिएको समस्या बारे बुझेर त्यहीअनुसार काम अघि बढाउँछौँ ।’ गएकाे आइतबार संसद सचिवालयले गठन गरेको छानबिन समितिको म्याद १५ दिनको छ । समिति गठन भएको आठ दिनपछि मात्रै पहिलो बैठक बस्यो । तर समितिले काम सुरु भएको दिन अर्थात् सोमबारबाट मात्रै गन्ति सुरु हुने बताएको छ । समितिले तोकिएको समयमा काम सक्ने जिकिर गरेको छ ।