दाङ । जिल्ला स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २५ जना डाक्टरहरुले सामूहिक राजीनामा दिएका छन् ।

प्रतिष्ठानका पदाधिकारीहरुको ज्यादतीका कारण आँफूहरुले काम गर्न नसकेको जनाउँदै विहिवार बेलुका उनिहरुले सामुहिक राजीनामा दिएका हुन् । प्रतिष्ठानका उपकुलपति डा। संगिता भण्डारीले बारम्बार डाक्टरहरुलाई स्पष्टिकरण सोध्ने, जागिर खाईदिने धम्कीसम्म दिने गरेको भन्दै उनिहरुले आँफूहरु शारिरिक तथा मानसिक रुपमा विक्षिप्त भएको पत्रमा जनाएका छन् ।

हालै मात्रै केहि चिकित्सकहरुलाई लाञ्छना लगाई बर्खास्त गर्न खोजेको समेत उनिहरुले राजीनामापत्रमा उल्लेख गरेका छन् । उपकुलपतिका कारण मानसिक तथा शारिरिक दबाब महशुस गरेको भन्दै राजीनामा दिएका डाक्टरहरुले यो ज्यादती सहेर कुनैपनि काम गर्न नसक्ने उल्लेख गरेका छन् ।

उनिहरुले उपकुलपति डा. भण्डारीसंगै कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यालय, सहकुलपतिको कार्यालय, नेपाल मेडिकल एशोसिएशन, नेपाल मेडिकल काउन्सिल र जिल्ला प्रशासन कार्यालयमा पनि आँफूहरुको राजीनामा बोधार्थ पठाएका छन् । प्रतिष्ठानका दुईदर्जन चिकित्सकहरुले एकैपटक राजीनामा दिएपछि प्रतिष्ठानको उपचार सेवा प्रभावित बनेको छ ।