ओखलढुंगा । ओखलढुंगाको राजमार्ग आसपासका बारीमा लगाइएका हिउँदे मकै फौजी किराले सखाप पारेको छ । सिद्धिचरण राजमार्ग र ओखलढुंगा हलेसी सडक आसपासका क्षेत्रमा फौजी किराले मकै बाली सखाप पारेको हो ।

ओखलढुंगाको मानेभज्याङ गाउँपालिका, खोटाङको हलेसी तुवाचुङ नगरपालिका र उदयपुरको कटारी नगरपालिका १३ मा हिउँदे किराको आतंक फैलिएको हो । किसानले हिउँदे मकै सखाप पारेपछि किसान चिन्तित बनेका छन् । मानेभञ्ज्याङको हिलेपानी, सोक्माटार, थाक्ले र मानेभञ्ज्याङ गाउँमा लगाइएको मकैबाली सखाप पारेको सोक्माटारका किसान क्षमराज राईले बताए । उनले भने, ‘मकै मात्रै होइन, बोटबिरुवाका चिउलासमेत सखाप पारेर खाएको छ ।’

बर्खे मकै खडेरीले सुकेपछि किसानले असार अन्तिम साता हिउँदे मकै लगाएका थिए । हिउँदे मकैसमेत फौजी किराले सखाप पारेपछि जीविकोपार्जनमा समस्या भएको अर्का किसान रामकुमार राईले बताए । उनले भने, ‘१५ दिन अघिसम्म केही थिएन, अहिले सबै मकैको गुबा खाइदिएको छ, बर्खे मकै खडेरीले खायो, हिउँदे फौजीले ।’

फौजी किरा दुई रङको फेला परेको छ। सोक्माटारमा सेतो र मानेभञ्ज्याङको रिचुवामा हरियो रङको छ । ठूलो समूहमा आएर घाममा मकैको गुबोभित्र पसेर खाने राति कलिला पात खाने भएकाले यसलाई फौजी किरा भनिएको हो ।

किराले गुबो खाएपछि मकै नपलाउने र घोगा नलाग्ने स्थानीय नरेश राईले बताए । राईका अनुसार घडेरीले बर्खे मकै सुकेपछि निकालेर हिउँदे लगाएका किसानहरू फौजीका आतंकबाट हैरान भएका छन् । ‘वर्षभरि खाने मकै सुकिहाल्यो, हिउँदे किराले खायो, अब अनिकाल लाग्ने भयो’, ७१ वर्षीय जयलाल राईले गुनासो गरे ।

नियन्त्रणमा प्राविधिक टोली
फौजी किराको प्रकोपबारे कृषि ज्ञान केन्द्रको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेर नमुना संकलन गरे पनि पहिचान गरेको थिएन । उक्त नमुना प्रदेश कार्यालयमा पठाएपछि विषादीसहितको टोली ओखलढुंगा आउन लागेको बताइएको छ ।

किरा नियन्त्रण गर्न विषादीसहितको प्राविधिक टोली खटाइएको गाउँपालिका अध्यक्ष मोतिराज राईले बताए । कृषि ज्ञान केन्द्र विराटनगरबाट झिकाइएका प्राविधिक प्रकोप स्थलमा खटाइएको राईको भनाइ छ । विषादी छर्केर किरा नियन्त्रण गर्ने तयारी गरिएको छ ।