धादिङ । जिल्ला अस्पताल धादिङवेशीमा उपचार गराउन आउनेहरूमा डेङ्गु र ठेउला (स्क्रब टाइफस) रोगको संक्रमण देखिएको छ । ठेउलाका बिरामी बढ्न थालेपछि महामारीकै रुप लिने हो कि भनेर स्वास्थ्यकर्मीसमेत चिन्तित बनेका छन् ।

गत वर्ष यही सिजनामा धादिङमा डेङ्गु देखा परेको थियो । भदौ महिनामा धादिङ जिल्ला अस्पतालमा उच्च ज्वरो आएका बिरामीको स्वास्थ परीक्षण गर्दा पाँच जनामा डेंगु र १७ जना ठेउला देखिएको जिल्ला अस्पताल धादिङले जानकारी दिएको छ । ‘यहाँ उपचार गराउन आउनेमध्ये ५ जनामा डेङ्गु र १७ जनामा स्क्रब टाइफसका रोगका लक्षण देखिएको छ’, अस्पतालका सूचना अधिकारी कृष्णलाल उप्रेतीले भने, ‘चिकित्सकको निगरानीमा उपचार गराइरहेका छौँ ।’

कित अभाव भयो : चिकित्सक
अस्पतालमा आउने अन्य बिरामीमा पनि संक्रमण भएको अनुमान चिकित्सकहरूले गरेको छन् । तर परीक्षण गर्ने किट थोरै सङ्ख्यामा भएकाले शंकास्पद सबै जनाको परिक्षण गर्न सकिएको छैन । बिरामीको संख्या दिनदिनै बढेसँगै अस्पतालमा यो रोगको प्रारम्भिक परीक्षणका लागि आवश्यक पर्ने सामग्रीको समेत अभाव भएको छ । सबै किसिमका लक्षण मेल खाएको र नगरी नहुने सिकिस्त बिरामीलाई मात्र अहिले ती दुवै रोगको परीक्षण गर्ने गरेको अस्पतालले जनाएको छ ।

चिकित्सकहरूले शंकास्पद बिरामीहरूमा समेत रोगको परीक्षण गर्न नपाएकोले झन् समस्या उत्पन्न भएको बताएका छन् । बजार क्षेत्र भन्दा ग्रामीण क्षेत्रका स्थानीयमा यो रोग फेला पर्न थालेको छ । यस वर्ष धादिङमा दुबै रोगका संक्रमित दिनदिनै बढ्दै गएकाले सरकारले तत्काल रोगको प्रारम्भिक परीक्षणका लागी आवश्यक पर्ने किट उपलब्ध गराउन जिल्ला अस्पतालका स्वास्थकर्मीले माग गरेका छन् ।

टाउको दुख्ने, अत्याधिक ज्वरो आउने, गर्धन र घाँटी वरपर मसिना बिमिरा आउने स्क्रब टाइफसको प्रमुख लक्षण हुन् । यो रोग धादिङमा दुई वर्ष अघिदेखि देखिन थालेको हो ।

‘माइट’ नामको किर्नाले टोकेपछि स्क्रब टाइफस रोग लाग्छ । यो जुम्राभन्दा पनि सूक्ष्म हुन्छ । प्रायः नाङ्गो आँखाले देख्न सकिँदैन । यो मुसाको कानमा बस्छ । घाँसमा ‘माइट’ झरेको अवस्थामा मानिससँगको सम्पर्कमा आउँदा यसको संक्रमण हुन्छ ।

आजकाल दैनिक जसो डेङ्गु र स्क्रब टाइफस रोगका लक्षण मिल्ने र उच्च ज्वरो आएका बिरामीमा १० देखि १५ जनासम्म उपचार गराउन आउने गरेका छन् । तिनीहरू सबैमा रोगका संक्रमण नदेखिएपनि देशभर भइरहेको डेङ्गुको प्रकोपले आत्तिएर जचाउन आर्ने बढी छन् ।

किट अभाव छैन : रिजाल
स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत विष्णु रिजालले परीक्षण गराउनको लागि किटको अभाव नहुने बताए । ‘यहाँ परीक्षण गराएका बिरामीको विवरण र रिपोर्ट स्वास्थ्य मन्त्रालय अन्तर्गत इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाउनु पर्छ’, उनले भने, ‘त्यसपछि आवश्यक मात्रामा उसैले किट पठाइदिन्छ।’ धादिङमा डेङ्गु र स्क्रब टाइफसका विरामी बढ्न थालेपछि आवश्यक समन्वय गरिरहेको रिजालले बताए ।

जिल्लामा डेङ्गु र स्क्रब टाइफस रोगका बिरामी देखा पर्न थालेपछि रोगबाट बच्न उच्च सर्तकता अपनाउन समेत चिकित्सकले सुझाव दिएका छन् । लगातार उच्च ज्वरो आएमा तत्काल परीक्षण गर्न स्वास्थ्य संस्था जान समेत उनीहरूको अनुरोध छ ।