काठमाडौँ । संविधान दिवसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रमुख अथिति बनाउने सरकारको योजना पूरा नहुने देखिएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरसँग प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसमा मूख्य अथितिको रुपमा सरिक हुने निम्तो दिएका थिए । तर, त्यो निम्तो पूरा नहुने लगभग पक्का भएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई संविधान दिवसमा आउन निमन्त्रणा दिएका थिए ।तर, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले यसबारे आफूलाई कुनै जानकारी नरहेको सुनाए ।

नेपालस्थित भारतीय दूतावासका प्रवक्ता अभिषेक द्वीवेदीले यो विषयमा कुनै प्रतिक्रिया दिएनन् । नेपालले असोज ३ मा संविधान दिवस मनाउँदा दिन मोदी अमेरिकामा हुनेछन् ।

असोज २ गते दिल्लीबाट अमेरिका प्रस्थान गर्ने मोदी असोज ३ गते अमेरिका पुग्नेछ । असोज ४ गते वासिङ्टन डिसी, ५ गते हस्टन, ६ गते न्युयोर्क र ७ गते सिकागो जाने कार्यक्रम छ ।

उता, पेट्रोलियम पाइपलाइन उदघान गर्ने कार्यक्रमको तयारी पनि भइरहेको छ । उद्योग मन्त्रालयका अनुसार भदौ २४ गते दुवै देशका प्रधानमन्त्रीले भिडियो कन्फरेन्समार्फत पाइपलाइनको उदघाटन गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पटक पटक निमन्त्रणा दिएपनि उनी नेपाल आउन अझै समय जुर्न सकेको छैन ।

पहिलो पटक प्रधानमन्त्री बन्दा सपथ लिएको चार महिनापछि नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका थिए । मोदीले २०७१ वैशाख ३१ गते पहिलो पटक प्रधानमन्त्रीमा शपथग्रहण गरेका थिए भने साउन १८ गते नेपाल भ्रमणमा आएका थिए । त्यतिबेला उनको निकै प्रसंशा भएको थियो ।

उनले त्यतिबेला पहिलो भ्रमण भुटान (२०७१ जेठ ३१) को गरेका थिए । त्यसपछि ब्राजिल (२०७१ असार २९) र अनि नेपालको भ्रमण गरेका थिए । यसपटक उनले पहिलो भ्रमण माल्दिभ्सको गरेका छन् भने श्रीलंका, कार्गिस्तान, जापान, भुटानको भ्रमण गरिसकेका छन् ।

शुरुमा रेल मार्ग उदघाटनका लागि मोदी आउने तयारी भएको थियो । तर, नेपालको तर्फबाट त्यसको तयारी नपुगेको भन्दै कार्यक्रम स्थगित भयो । त्यसपछि पेट्रोलियम पाइपलाइन उदघाटनका लागि मोदी नेपाल आउने चर्चा चलेको थियो । तर त्यसमा पनि नआउने पक्कापक्की भएको छ ।