बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको छोटेपामा जलविद्युत आयोजनाको सडक निर्माणमा खटिएका दुई जना मजदुर लडेर घाइते भएका छन् ।

सडक निर्माणका क्रममा भिरबाट खसेर बुधबार नारच्याङका २० वर्षीय चुमबहादुर पुर्जा र २९ वर्षीय खिमबहादुर चोचाङ्गी घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घाइते दुवै जना मजदुरलाई उपचारका लागि ठेकेदारले पोखरा लगेको प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताए । १०० मिटर तल खसेका उनीहरू पोखरा पठाउँदासम्म बेहोस थिए ।

निलगिरी हाइड्रो पावर लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजनामा पछिल्लो एक वर्षयता भएको दुर्घटनामा दुई जना मजदुरको यसअघि नै मृत्यु भएको थियो ।

भौगोलिक रुपमा विकट क्षेत्रमा सञ्चालित आयोजनालाई मजदुरको सुरक्षामा सचेत बनाइएको प्रमुख जिल्ला अधिकारी ज्ञानराज ढकालले बताए ।

निलगिरी हाइड्रोपावर कम्पनीले ३८ मेगावाट क्षमताको निलगिरी र ६२ मेगावाट क्षमताको निलगिरी क्यासकेड बनाउन पहुँचमार्ग खनिरहेको छ ।