एजेन्सी । लिभरपुलका रक्षक भिर्गिल भान डायक ‘युईएफए प्लेयर अफ दि इयर’ घोषित भएका छन् । युरोपियन क्लब फुटबलमा गएको याम उत्कृष्ट खेलाडी घोषित हुँदै डायकले अवार्ड जितेका हुन् ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले मोनाकोमा आयोजित एक समारोहबीच डायकलाई प्लेयर अफ दि इयर अवार्ड प्रदान गरेको छ । अवार्ड जित्ने क्रममा डायकले युभेन्ट्सका क्रिश्चियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीलाई पछारे ।

युईएफएको सदस्य, युरोपका प्रशिक्षक र ५५ खेल पत्रकारको मतको आधारमा युईएफएले डायकलाई अवार्ड दिएको हो । डायकले ३०५ अंक पाउँदा मेस्सीले २०७ र रोनाल्डोले ७४ अंक पाए ।

डच रक्षक डायकले यो सिजन लिभरपुलबाट च्याम्पियन्स लिग जितेका थिए । डायक ‘युईएफए प्लेयर अफ दि इयर’ अवार्ड पाउने पहिलो डच खेलाडी समेत बनेका छन् । यस्तै डायकले ‘डिफेन्डर अफ दि सिजन’ अवार्ड समेत जितेका छन् ।

महिलातर्फको प्लेयर अफ दि वुमेन्स अवार्ड इंग्ल्याण्डकी लुसी ब्रोन्जले जितिन् । डिफेन्डर ब्रोन्ज फ्रेन्च क्लब ओलम्पिक लियोनेसबाट खेल्ने गरेकी छन् ।