काठमाडौं । सामाजिक सञ्जाल ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सीको ट्वीटर एकाउन्ट ह्याक भएको छ ।

४० लाख भन्दा बढी फलोअर्स रहेको डोर्सीको एकाउन्टबाट ह्याकरले निकै आपत्तिजनक, रंगभेदी, हिटलरको तारफ गरेको र ‘ट्विटर हेडक्वार्टरमा बम’ लगायतका सन्दर्भका ट्विट गरेका थिए । ती ट्विट १५ मिनेटसम्म रहेका थिए ।

चक्लि स्क्वाडका रुपमा आफूलाई परिचित गराएको ह्याकरको समूहले डोर्सीको एकाउन्ट ह्याक गरेको बताइएको छ ।

ट्विटरले पछि उक्त एकाउन्टमा आफ्नो नियन्त्रण कायम भएको र ह्याकरबाट छुटाउन सफल भएको बतायो । ट्वीटरले ट्वीट गरेको छ, ‘अहिले एकाउन्ट सुरक्षित छ, र ट्वीटरले कुनै पनि सुरक्षात्मक प्रणालीमा सम्झौता गर्ने छैन ।’

ह्याकरले कसरी डोर्सीको एकाउन्टसम्म पहुँच बनाए भन्ने अहिलेसम्म खुलेको छैन । ट्विटरकी प्रवक्ताले बम त्रासको विषयमा अनुसन्धान भइरहेको र त्यसमा ‘सत्यता’ को आधार भने नदेखिएको बताइन् ।

४२ वर्षीय डोर्सीले पहिलो पटक सन् २००६ मा ट्विट गरेका थिए । उनी ट्विटरमा पहिलो प्रमुख कार्यकारीसमेत हुन् । उनले सन् २००८ सम्म कम्पनीको प्रमुख कार्यकारीको रुपमा काम गरेका थिए भने बीचमा छोडेर फेरि २०१५ देखि निरन्तर काम गरिररेका छन् ।