भोजपुर । टेम्के मैयुङ गाउँपालिका–९, लेखर्कका नवराज राईले छोरीको जन्मदर्ता सजिलै बनाए । न उनलाई कुनै कागजात पेस गर्नु पर्‍यो न कुनै सचिवको सिफारिस नै चाहियो । ५ महिनाअघि उनकी पत्नी प्रसूति गराएपछि लेखर्क बर्थिङ सेन्टरले दिएको जन्म प्रमाण पत्रले नै सबै काम टार्‍यो । उनले गत वैशाखमा पत्नी सविनाको त्यही बर्थिङ सेन्टरमा प्रसूति गराएका थिए ।

‘वैशाख दोस्रो साता श्रीमतीलाई बर्थिङ सेन्टरमा प्रसूति गराए । त्यतिबेला बर्थिङ सेन्टरले दिएको जन्म प्रमाणपत्रले सहजै जन्मदर्ता बनाउन काम दियो । अनेक कागजात मिलाउनुपर्ने झन्झट भएन’, उनले भने, ‘वडाले बर्थिङ सेन्टरमै सुत्केरी नगराए जन्मदर्ता बनाउन नसकिने नयाँ नियम ल्याएको थाहा पाएपछि मैले छोरीको जन्मदर्ता सजिलै पाएँ । आमाबच्चाको स्वास्थ्य पनि राम्रो, सरकारी सेवा लिन पनि सहज ।’

ग्रामीण महिलालाई बर्थिङ सेन्टर वा स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति गराउन टेम्के मैयुङ गाउँपालिकाको वडा नम्बर ९ लेखर्कले बर्थिङ सेन्टरमा प्रसूति नगराए जन्मदर्ता नपाउने नयाँ नियम लागू गरेको छ । वडाले भदौ पहिलो साता यो नियम लागू गरेको हो । घरमै प्रसूति गराउने पुरानो परम्परा विस्थापित गर्दै सुरक्षित तरिकाबाट आमा र बच्चाको स्वास्थ्यको जोखिम घटाउन यो नियम लागू गरिएको वडाध्यक्ष गणेशकुमार राईले बताए । बर्थिङ सेन्टरमा प्रसूति नगरे बच्चाको जन्मदर्ता नहुने भएपछि अहिले महिलाहरू धमाधम नियमित चेकअप र प्रसूति गराउन थालेका छन् । ५ महिनायता सेन्टरमा १४ जना महिलाले प्रसूतिपश्चात शिशुको जन्मदर्ता पनि बनाइसकेका छन् ।

सरकारले दिने सुत्केरी स्याहारबापतको १ हजार रुपैयाँसँगै दिने पूर्ण खोप कार्डका साथ वडाले जन्म प्रमाणपत्र प्रदान गर्ने नयाँ नियम ल्याएको यो पहिलोपटक हो । यसअघि यहाँका महिला प्रसूति गराउन छिमेकी वडा कोट या गोगने अथवा विकल्पमा ३ घण्टा मोटर दुरीको सदरमुकाम, ठूला सहर लैजानुपर्ने बाध्यता थियो । यतिबेला जिल्ला अस्पताल भोजपुरलगायत ९ वटै स्थानीय तहमा जम्मा ३० वटा बर्थिङ सेन्टर (स्वास्थ्य चौकी) सञ्चालनमा रहेको छ । अन्य नयाँ सेन्टर खोलिने क्रममा रहेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।