रुपन्देही । गौतम बुद्धको महापरिनिर्वाण पछि शोकमग्न भिक्षुहरुसँग सुभद्र नामक एक भिक्षुले भने, ‘भिक्षुहरु, शोक नगर, रोदन नगर १ हामीहरुले महाश्रमणबाट छुटकारा पाएका छौं । उनी हुँदा जहिले पनि ‘यो गर, यो नगर’ भन्थे तर, अब हामी जे मन लाग्यो त्यही गर्न पाउने भएका र्छौं ।’

सुभद्र भिक्षुको यो वचन सुनेर सबै भिक्षुहरु छक्क परे । बुद्धको महापरिनिर्वाणपछि सद्धर्मको नाश हुने डर भयो । भिक्षु सङ्घ र समाजका लागि बुद्धले दिएको शिक्षा लोप हुने डरले विभिन्न समयमा सङ्घमार्फत बुद्ध वचनलाई एकै ठाउँमा सङ्ग्रह गर्ने काम भयो । यो सङ्ग्रह नै त्रिपिटक हो ।

बुद्धले बोधगयामा ज्ञान प्राप्त गरेपछि ४५ वर्षसम्म नेपाल, भारत, अफगानिस्तानसहित विश्वका विभिन्न मुलुकमा धर्मोपदेश गरेका थिए । त्रिपिटकको शाब्दिक अर्थ तीन वटा डाला हुन् अर्थात् सुत्त, विनय र अभिधम्मको छुट्टाछुट्टै सङ्ग्रह ।

बुद्धको परिनिर्वाण पछि आएको सुभद्रको भनाइले सङ्घमा विखण्डन ल्याउने देखेर बुद्धका शिष्य महाकाश्यप महास्थविरले बुद्ध धर्मको रक्षा र बुद्ध वचन संरक्षणका लागि पहिलोपटक भिक्षुहरुको भेला डाके । राजगृहको सप्तपर्णि गुफामा भएको ५०० भिक्षुको भेलाबाट बुद्धवचन र नियमहरुको सङ्ग्रह गरियो ।

यसलाई ‘प्रथम संगायना’ भनिन्छ । यसको १०० वर्षपछि वैशालीमा राजा कालाशोकको संरक्षकत्वमा भिक्षु रेवत महास्थविरको अगुवाइमा दोस्रो संगायना भयो ।

सम्राट अशोकको समयमा अर्थात् इसापूर्व २४८ मा भिक्षु मौगल्लीपुत्ततिस्स महास्थविरको नेतृृत्वमा एक हजार भिक्षुको सहकार्यमा तेस्रो संगायना तथा बुद्ध महापरिनिर्वाणको ४५४ वर्षमा लंकाद्विपका राजा बट्टगामिनीको शासनकालमा चौथो संगायना भयो । यसअघि बौद्ध ग्रन्थ त्रिपिटक लिपिबद्ध गरिएको थिएन ।

गुरुशिष्य परम्पराअुनसार त्रिपिटक कण्ठस्थ पारी रक्षा गर्ने चलन थियो । आचार्य भिक्षु अमृतानन्द महास्थविरले पहिलोपटक त्रिपिटकलाई पालि भाषाबाट नेपाली भाषामा अनुवाद गरेका थिए । त्रिपिटकमा ८४ हजार धर्मस्कन्धहरु सङ्ग्रहित छन् ।

त्रिपिटक बुद्ध धर्मको आधिकारिक ग्रन्थ हो जसलाई सबै बौद्ध सम्प्रदायले (महायान, थेरवाद, बज्रयान, मूलसर्वास्तिवाद, नवयान आदि) मान्छन् । यो ग्रन्थ शुरुमा पालि भाषामा लेखिएको हो र पछि विभिन्न भाषाहरुमा अनुवाद गरिए ।

यस ग्रन्थमा भगवान् बुद्धद्वारा बोधिज्ञान प्राप्तिपछि महापरिनिर्वाण हुुनुअघिसम्म दिएका प्रवचनहरु सङ्ग्रह गरिएको भिक्षु मैत्री महास्थविर बताउछन् ।

उनले ४५ वर्षसम्म गाउँ गाउँ जनपद जनपद घुमेर धर्मोपदेश गरेका थिए । त्रिपिटकमा बुद्धकालीन समयको राजनीति, अर्थनीति, सामाजिक व्यवस्था, शिल्पकला, सङ्गीत, वेशभूषा, रीतिरिवाज, व्यापारलगायतका विषयमा बुद्धले गरेका व्याख्या विश्लेषण समावेश छ ।

सुत्तपिटकअन्तर्गत दीघ निकाय, मज्झिम निकाय, संयुक्त निकाय, अङ्गुत्तर निकाय, खुद्दक निकाय छन् । विनय पिटकमा भिक्षुरभिक्षुणीका नियम सङ्ग्रहित छन् जसमा सुत्तविभंग, खन्धक, परिवार, पातिमोक्ख छन् । अभिधम्म पिटकमा चित्त र चेतसिकको गहन विश्लेषण गरिएको छ र यसअन्तर्गत धम्मसंगणि, विभङ्ग, धातुकथा, पुग्गलपञ्ञति, कथावत्थु, यमक र पट्ठान छन् ।

बुद्ध जन्मस्थल लुम्बिनीमा बसेर लामो समयदेखि बुद्ध धर्मको प्रचारप्रसार र प्रर्वद्धन गर्दै आउनुभएका भिक्षु सागर धम्मका अनुसार विनय पिटकमा भिक्षुरभिक्षुणी तथा गृहस्थहरुको आचार, व्यवहार तथा अनुशासनसम्बन्धी नियमहरुको विस्तृत वर्णन छ ।

सुत्त पिटकमा बुद्धले उदाहरणसहित दिएका उपदेश तथा सूत्रहरु छन् जसमा कोशलको राजा प्रसेनजित र मगधको राजा अजातशत्रुको युद्धको वर्णन, १६ जनपद, भिक्षु भिक्षुणीहरुको जीवनचर्याबारे चर्चा गरिएको छ ।

अभिधम्म पिटकमा बुद्ध धर्ममा मान्य पदार्थ र तिनका भेदरप्रभेदहरुको वैज्ञानिक ढङ्गले वर्णन विस्तार गरिएको छ । यस गहन ग्रन्थको रचना सम्राट अशोकको समयमा मोगल्लीपुत्त तिस्सले गर्नुभएको मानिन्छ ।

“त्रिपिटक बुद्ध शिक्षाको व्यावहारिक र वैज्ञानिक ग्रन्थ हो । यसमा आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक जीवनका पक्षहरुलाई कसरी सफल बनाउने भन्ने उल्लेख छ । त्रिपिटक विना बुद्ध धर्म र शिक्षाको परिकल्पना गर्न सकिँदैन,” भिक्षु धम्म भन्नुहुन्छ ।

बुद्ध शिक्षा र दर्शनको मूलाधार त्रिपिटक भएकाले यसको महत्व धेरै छ । नेपालमा भने यो फैलिन सकेको छैन । गत वर्षदेखि नेपाली भिक्षुहरुको पहलमा पहिलो पटक बुद्ध शिक्षाको प्रचार गर्ने उद्देश्यले लुम्बिनीमा त्रिपिटक वाचन कार्यक्रम शुरु गरिएको छ ।

‘त्रिपिटक बुद्ध वाणी हुन्, आजको समाजका लागि बुद्धका वाणीहरु उत्तिकै सान्दर्भिक छन्’, लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रमुख फणिन्द्र न्यौपाने भन्छन्, ‘बुद्धका वाणीहरुलाई घरघरमा पुरयाउनु आवश्यक छ ।’

बुद्ध जन्मस्थल भएर पनि यहाँका अधिकाँश नागरिकमा बुद्धका उपदेशबारे कुनै जानकारी नहुनु विडम्बनापूर्ण भएको र विद्यालय स्तरबाटै बुद्ध शिक्षाको विषयमा जानकारी गराउन आवश्यक रहेको उनले बताए ।

‘बुद्ध शिक्षालाई मूल प्रवाहीकरण गर्न जरुरी छ, प्रदेश ५ मा अनिवार्य शिक्षाको रुपमा बुद्ध शिक्षाको विस्तार गर्नुपर्छ‘, उनले भने, ‘बुद्धको जीवनसँग जोडिएका स्थलहरुको प्रचार गर्ने, संरक्षण गर्ने, इतिहाससँग बुद्ध दर्शनलाई जोड्ने काम हुनुपर्छ ।’