–विनय देशार
अहिले नेपाल भ्रमण वर्ष २०२०(अंग्रेजी पात्रो अनुसार) चलिरहेको छ । पर्यटकीय नगरी पोखराबाट त्यसको सुरुवात भयो । भ्रमण वर्षका लागि सरकारले के गरिरहेको छ, वा के गरेन ? भन्नु भन्दा पनि हामी सबै पेशाकर्मी एवं आम नागरिकको पनि केही न केही भूमिका ठहर्छ । यो पल्ट त्यस्तै एउटा संयोग आइलाग्योः नेपाली भाषाको खास उद्गम सुदूरपश्चिमको अछाम जिल्ला पुग्ने । यस्तो संयोग जुर्दैन । आलेखको सुरुवाती खण्डमा चर्चा गरिएको भ्रमण वर्षका लागि हिँडेको भने होइन । एउटा टेलिभिजन छाँयाकारका नाताले काम विशेष हिँडिएको थियो । अछाम पुग्दा धेरै कुरा जान्न पाइयो । आफुले थाहा पाएका कुरा यो आलेख मार्फत अरुलाई पनि थाहा दिनु पर्छ भन्ने भाव जाग्यो । र, यसले भ्रमण वर्षमा एउटा नागरिकले खेल्नुपर्ने भूमिका न्यूनरुपमा भएपनि उठान हुनेछ ।

सन्दर्भ भ्रमण वर्ष

चार जात छत्तिस वर्णको साझा फुलबारी हो, नेपाल । बहुजातीय, बहुसाँस्कृतिक र बहुधार्मिक विशेषतायुक्त मुलुक हो, नेपाल । यो कुरा नेपालको मूल कानून अर्थात् संविधानको प्रस्तावनामै उल्लेख छ । जनताले चुनेका प्रतिनिधिले चुनेको संविधानसभाबाट यत्ति कुरा लेख्न पनि ठूलै संघर्ष र त्याग गरे, नेपालीले ।
नेपाल आदिम कालदेखि ऋषिमुनीहरुको जन्मभूमि, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि । साँस्कृतिक, धार्मिक, प्राकृतिक र साम्प्रदायिक विविधताले भरिपूर्ण नेपाल प्रकृतिको अनुपम उपहार हो । कैयौँ मठमन्दिर र प्राकृतिक सौन्दर्यको वर्णन जति गरे पनि अपुग छ । यही सौन्दर्यको खानी नेपालको हिमाल, पहाड, तराई सगोलमा देव भूमिका रुपमा चिनिन्छ । तराईमा पनि प्राचिन मिथिला नगरीको वर्णन आफैँमा अर्को विशेषतायुक्त सभ्यता हो ।

पहाडी र हिमाली क्षेत्रका उच्च भागमा कैयौँ ऋषिमुनिको तपोभूमि छन् । नदीको नामाकरण र विशेषताले समेत नेपाल देवभूमि हो भन्ने बलिया प्रमाणहरु पेश गर्छन् । भौगोलिक र वातावरणीय हिसाबले नेपाल असाध्यै विशेषतायुक्त छ । संसारकै अग्लो हिमश्रृंखला सगरमाथाको मात्र कुरा रहँदैन, संसारकै सबैभन्दा अग्लोस्थानमा धान फल्छ, नेपालमा । डाडाकाँडा, नदी, नाला र झरनाले नेपालको पहिचान दिन्छन् । चैत्य, गुम्बा, मठ, मन्दिरले भरिएको देश हो नेपाल । र, यहाँ अनेकै धाम छन् । त्यही धाम मध्येको एक हो, सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला अछाममा पर्ने वैजनाथ (वैद्यनाथ)धाम । सदूरपश्चिममा अनेकौँ देवस्थल छन् । तर, अछाम जिल्लामा रहेको वैद्यनाथ धाम नेपालमा रहेका चार धाम मध्य एक मानिन्छ । पूर्वको वराह क्षेत्र, मध्यको पशुपतिनाथ क्षेत्र, पश्चिमको मुण्क्तिनाथ क्षेत्र र सुदूरपश्चिमको वैद्यनाथ क्षेत्र नेपालका चार धाम हुन् ।

वैद्यनाथ क्षेत्र पौराणिक, धार्मिक, ऐतिहासिक, साँस्कृतिक तथा पर्यटकीय दृष्टीले महत्वपूर्ण मानिन्छ । वैद्यनाथ धाम अछाम जिल्लाको साँफेबगर नगरपालिका –१ को वैजनाथमा अवस्थित छ । साँफेबगरबाट करिब ३ किलोमिटर सडक दुरी पर्दछ, वैद्यनाथ पुग्न । बुढीगंगा र सरस्वती नदीको संगममा भगवान शिवले अत्यन्त मनपराएको स्थल वैद्यनाथ क्षेत्रको नामले चिनिएको पाइन्छ । वैद्यनाथ क्षेत्रमा गएर भगवान शिवको पूजाआजा गरे जस्तोसुकै कष्ट एवं असाध्य रोग पनि निको हुने कुरा प्राचिन ग्रन्थ मानस खण्डमा उल्लेख छ ।

मानस खण्डमा पौराणिक पात्रका रुपमा परिचित कुम्भकर्ण, बाणसुर जस्ता शिवका भक्तले पुजा गरेको तथा विभिषण,यम, कुर्वे, बली जस्ता असुरको समेत आवागमन भएको कुरा त्यसमा उल्लेख छ । वैद्यनाथ क्षेत्रमा जो पुग्छ उसको मनोकामना पूरा हुने चर्चा मानस खण्ड्मा गरिएको छ । वैद्यनाथ धामको बारेमा विभिन्न धार्मिक ग्रन्थमा विभिन्न किम्वदन्ती रहेको पाइन्छ । अछाम क्षेत्रमा फैलिएको महामारी रोग नियन्त्रणमा नआएपछी स्वयं महादेव वैद्यको रुपमा वैद्यनाथ धाममा बसी बिरामीको उपचार गरी रोग निको पारेको भन्ने जनश्रुति छ ।

त्रेता युगमा यो ठाउँमा रावणले तपस्या गर्ने क्रममा आफ्ना नौ वोटा शिर छेदन गरी एक–एक वटा शिर चढाउँदै गएको र आफ्नो दशौं शिर छेदन गर्न खोज्दा देवाधिदेव महादेव ज्योतिर्लिंग स्वरूपमा प्रकट भई आफ्नो वैद्य कलाले नौ वटै शिर जस्ताको त्यस्तै जोडिदिएको किंवदन्ती छ । यसरी, अतुलवर प्रदान गरेपश्चात स्वर्गबाट यो क्षेत्रमा पुष्पवृष्टि हुनुको साथै देव्देवताले यो क्षेत्रमा पूजाआजा गर्न थालेकाले यो क्षेत्र वैद्यनाथको नामले स्थापित भएको पौराणिक आख्यान रहेको छ ।

ऐतिहासिक दृष्टिले अछामका सोमवंशी राजाका ४६औं पुस्ताले शासन गर्दा पनि वैद्यनाथ गुठी राखि राज्यद्वारा पूजाको व्यवस्था गरेको इतिहास छ । रणबहादुर शाहको शासनकालमा नेपाल एकीकरण हुँदाको समयमा जनरल अमरसिंह थापाले वैद्यनाथ बाबाको आशिर्वाद पाएपछि संकट टरेकाले उनले १८४९ सालमा चढाएका हातहातीयारहरु अहिले पनि वैद्यनाथ क्षेत्रको संग्राहलयमा संग्रहित रहेको छ ।वैद्यनाथ क्षेत्रमा हरेक १४४ वर्षमा कोटिहोम, प्रत्येक १२–१२ वर्षमा महालक्ष्यहोम सहितको महाकुम्भ मेला लाग्छ । प्रत्येक वर्षको माघे सन्क्रान्तिका दिन र शिवरात्रिको दिन ठूलो मेला लाग्ने गर्दछ ।
प्रत्येक वर्षको महाशिवरात्री र मकर संक्रान्तिमा वैद्यनाथमा भव्य मेला लाग्ने गर्दछ । महाशिवरात्री र मकर संक्रान्तिका दिन गाउँ–गाउँबाट ठूलो संख्यामा

दर्शनार्थी यो धाममा आई बुढीगंगामा स्थान गरेर कलशमा जल बोकी ज्योर्तिलिंगमा चढाउने गर्दछन् । जलले भरिएको कलश शिरमा बोकेका कन्या र महिला भक्तजन र विभिन्न सांस्कृतिक समूहहरु गाउँ–गाउँबाट वैद्यनाथ धाम आउछन् । उनीहरु मन्दिर परिक्रमा गरी ज्योतिर्लिंगमा जलार्पण गर्छन् ।
त्यति मात्रै होइन, सुदुरपश्चिम लोक संस्कृति झल्किने स्थानीय भूवा नाच, होरी –होली), र हुड्केउली, पर्छो, पुत्ला जस्ता विशिष्ट पहिचान बोकेको परम्परागत नृत्य नजिकैको डबलिमा प्रस्तुत गरिन्छन् ।

१. हुड्केउली : हुड्केउली विरताको गाथा गाँउदा इतिहासको चर्चा गर्ने लोकप्रिय र चर्चित नाच मानिन्छ । हुड्को (डमरु स्वरुपको बाजा) बजाउँदै गाउने र ढोलकको तालमा खुट्टाको चाल मिलाएर नाचिने यो नाचलाई हुड्केउली भनिन्छ । हुड्केउली गाउनेलाई हुड्के भन्ने गरिन्छ ।

२. पर्छो : मानव जीवनको विवाह, व्रतबन्ध, न्वारन र पास्नी जस्तो अत्यन्तै शुभकार्यमा दमाहा, ढोलक, सँनाई, नरसिं (कर्नाल), झ्याली जस्ता बाजाको प्रयोग गरेर नाचिने परम्परागत नृत्य लाई पर्छो नृत्य भनिन्छ । पर्छो नृत्य लाई महारानी नगरा पनि भनिन्छ ।

३.भूओ (भूवा) : पौराणिक पात्र पाण्डवको विजयओत्सव मनाउँदै खेलीने खेल हो भुओ । एक हातमा तरवार र एक हातमा ढाल लिएर सेतो जामा र सेतो पगडी लगाएर नाचिने भुओमा पनि विरताको गाथा गाउदै परापूर्वकालदेखि खेलिदै आएको मानिन्छ । त्यो अहिले पनि जीवित छ ।

४. पुत्ला : माघी अर्थात् माघेसंक्रान्तिका दिन महिलाले भाका हालेर र ताल मिलाउँदै खेल्ने झाँकी हो, पुत्ला । स्थानीय भाषामा यसलाई ‘रनपुत्ला’ भन्छन् । महिलाले दुई समूहमा बाँडिएर यो (ओरा–दोरा) खेलिन्छ । जहाँ आमाले छोरीलाई गरेको मायाँ, घृणा, पराई घर पठाउँदाताका एउटी छोरीले गाउने विछोड गाथा र खास गरेर राम सीताको विवाहको कुरा गीती लयमा गाउने गरिन्छ । कम्बरमा बाँधेको पटुकीको छेउलाई समाउदै, ताल मिलाउँदै आफ्ना व्यथा एवं वेदना पोख्ने माध्यम हो यो, पुत्ला साँस्कृतिक झाँकी । जहाँ महिलाले मात्रै पुत्ला खेल्छन् ।

५. होरी (होली) : देवीदेवताको स्तुति गाइने होरी पुरुषप्रधान सांस्कृतिक झाँकी हो । जसमा परम्परागत गोर्खा पहिरन हुन्छ । टाउकोमा पगडी, सेतो कुर्ता, घुम ओढेर घाँटीमा माला लगाई निधारमा टीका लगाएर खेलिने होरी सुदूरपश्चिमको एक विशिष्ट मौलिक नृत्य हो ।

यस्तै, समाजलाई ज्ञान विज्ञानको मार्गदर्शन दिन २०५४ सालमा दिपायलस्थित शिक्षा निर्देशनालयबाट अनुमति लिई २०५५ को शैक्षिक सत्रबाट वैद्यनाथ मन्दिर परिसरमा सुदूरपश्चिम र कर्णाली प्रदेशमै पहिलो वेद विद्याश्रम को स्थापना गरिएको छ । जहाँ संस्कृतमा निम्न माध्यमिक तहको पढाई समेत हुने गर्दछ । यहाँबाट पढेका कैयौले आचार्य र शास्त्रीसम्म अध्यन गरिसकेका छन् । धार्मिक पर्यटनका दृष्टिकोणले प्रचुर सम्भावना बोकेको यो वैद्यनाथ मन्दिर परिसरमा वैद्यनाथ बाबा, ठिङल भैरव, ठानापती भैरव, बटुक भैरव, गोरख नाथ, शेषशैयामा रहेको विष्णु र गणेशको नित्य पूजा अर्चना हुने गर्दछ ।

वैद्यनाथ क्षेत्र विश्व भरी छरिएर रहेको हिन्दू धर्मावलम्वीका लागि एक महत्वपूर्ण एतिहासिक धार्मिक क्षेत्र हो । स्थानीयका अनुसार भगवान शिवले वैद्यको रुप धारण गरी यहाँ बसेकाले यो एउटा आरोज्ञ धामको रुपमा परिचित छ । पहाडको फाँट्मा कल्कल बगिरहेको बुढीगंगा र सरस्वतीको संगममा रहेको धाम अत्यन्त आनन्ददायक छ । प्राकृतिक सुन्दरताका साथै धार्मिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण वैद्यनाथ धाम एक पटक होइन पटक–पटक पुगिरहन तीर्थयात्रीलाई पुलकित बनाइरहन्छ ।