काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका दुई वरिष्ठ चिकित्सक सहित ११ जना कर्मचारीलाई डेंगु संक्रमण भएको छ । अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार उनीहरूको अहिले त्यही अस्पतालमा उपचार भइरहेको छ । संघको राजधानी काठमाडौंमा फैलदो डेंगु संक्रमणलाई विचार गरी मङ्गलबारबाट अस्पताल परिसरमा डेंगु हेल्थ डेस्क स्थापना गरिएको छ ।

अस्पतालका निर्देशक डा. पाण्डेका अनुसार अस्पतालमा डेङ्गुका बिरामी अत्यधिक आएपछि छुट्टै डेङ्गु डेस्क स्थापना गरिएको हो । डेङ्गुको प्रकोप बढ्दै गएपछि अस्पताले बिरामीको सहजताका लागि आकस्मिक कक्ष छेवैमा हेल्थ डेस्क राखेको हो निर्देशक पाण्डेले बताए । उनका अनुसार ज्वरो आएका बिरामीले उक्त डेस्कमा सम्पर्क राखी सहज रुपमा सेवा लिन सक्नेछन् ।

पाण्डेले अस्पतालले ‘फिवर क्लिनिक’ समेत सञ्चालनमा ल्याएको बताए । ज्वरो आएका बिरामीलाई छुट्टै कोठामा राखी विशेष जाँच गर्न शुरु क्लिनिक स्थापना गरिएको हो । डा. पाण्डेले मङ्गलबार मात्र अस्पतालमा ५२१ डेङ्गुका बिरामीको डेङ्गु परीक्षण गरिएको बताए । तीमध्ये ८० देखि एकसय जनामा डेङ्गु हुनसक्ने भन्दै उनले रिपोर्ट आउन समय लाग्ने बताए ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गइ डेङ्गुको उपचार गराएका बिरामीसँंग शुल्क नलिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । अस्पताल निरीक्षण गर्न जानुभएका राज्यमन्त्री यादवले डेङ्गुका बिरामीलाई अन्य कुनै अस्पतालमा ‘रिफर’ नगर्ने गरी उपचार गर्न निर्देशन दिए । शुक्रराजकै सरुवारोग विशेषज्ञ शेरबहादुर पुनका अनुसार डेंगु मान्छेबाट मान्छेमा सर्दैन । तर, लामखुट्टेले स्वास्थ्यकर्मीमा पनि सारिदिन सक्छ ।