काठमाडौं । वुधबार विहान ९ बजेतिर बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रिए ।

सरकारी अधिकारी, सत्ता पक्ष र प्रतिपक्षका नेता कार्यकर्ता आ–आफ्ना नेताको स्वागतका लागि पहिल्यै फूलमालासाथ तयार थिए । जब जहाज रोकियो मन्त्री भट्टराई र नेता सिटौलासँगै झरे । दुबै गफिदै अघि बढे । स्वागत गर्न जिल्लाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत नजिकै पुगे । बहालवालामन्त्री भएकाले बस्नेतले खादा बोकेको हात मन्त्री भट्टराई तर्फ लम्काए । त्यही बेला मन्त्री भट्टराईले अचम्मकै व्यवहार प्रकट गरे । प्रमुख जिल्ला अधिकारी बस्नेतलाई रोक्दै मन्त्री भट्टराईले नेता सिटौला तर्फ देखाउँदै भने, ‘पहिला दाइलाई ।’ मन्त्रीले नै त्यसो भनेपछि प्रजिअ बस्नेत छक् परे । मन्त्रीकै आग्रहनुसार बस्नेतले सिटौलालाई पहिले खादा ओडाए । त्यसपछि मात्रै मन्त्री भट्टराईले प्रजिको खादा थापे ।

यो सबै हेरिरहेका नेता कार्यकर्ता समेत छक्क परे । खादा र फूल बोकेका धेरैले पहिले सिटौला र पछि मन्त्रीलाई खादा र फूलले स्वागत गरे । जिल्ला तहमा आरोप र प्रत्यारोपमा उत्रने स्थानीय नेता कार्यकर्तालाई सकारात्मक सन्देश दिँदै मन्त्री भट्टराई सम्मानको भावसँगै बाहिरिए ।

चितवन क्षेत्र नम्बर–२ का सङ्घीय सांसद एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनका सचिव कृष्णभक्त पोख्रेलले समेत पहिले सिटौलालाई खादाले स्वागत गरे । उनले भने, ‘मन्त्रीले अत्यन्तै सकारात्मक सन्देश प्रवाह गर्नुभएको छ ।’ पोख्रेलले अगाडि भने, ‘लोकतन्त्र र गणतन्त्र यही पार्टी मिलेर ल्याएका हौँ, अब हामी समृद्धिका लागि पनि मिल्नुपर्छ भन्ने सन्देश यसले दिन्छ ।’ युवाहरुले यो खालको संस्कार देखाउनुपर्ने पोख्रेलले बताए ।

नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले विपक्षी दलका नेतालाई जुन सम्मान मन्त्री भट्टराईले दिनुभयो यसले मुख्य दल मिल्नुपर्छ भन्ने सन्देश प्रवाह भएको विचार राखे ।

भट्टराई र सिटौलाको स्वागतमा भरतपुर महानगर प्रमुख रेणु दाहाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला इन्चार्ज कृष्ण खनाल, जिल्ला सचिव कृष्णभक्त पोख्रेल, काङ्ग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठ, प्रदेशसभा सदस्य विजय सुवेदी, घनश्याम दाहाललगायतका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थित थिए ।

मन्त्री भट्टराई भरतपुर विमानस्थल विस्तार सम्बन्धी छलफल कार्यक्रममा र सिटौला पार्टीको समायोजन सम्बन्धी कार्यक्रममा सहभागी हुन चितवन पुगेका हुन् । केही दिनअघि मन्त्री भट्टराईले मन्त्रालयका योजनाका विषयमा प्रमुख प्रतिपक्षका नेता शेरवहादुर देउवालाई भेटेर यो संस्कारको सुरुवात गरेका थिए ।