काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी)को कार्य समितिको चुनाव स्थगित भएको छ । सर्वोच्च अदालतले चुनाव रोक्न अन्तरिम आदेश दिएसँगै शुक्रबारका लागि तय भएको चुनावी साधारणसभा स्थगित भएको हो ।

एनओसीले विहिबार प्रेस विज्ञप्ति निकाल्दै भदौ २० गतेका लागि तय भएको चुनाव स्थगित गरिएको जनाएको छ । अदालतले चुनाव रोक्न पठाएको पत्र बुझेपछि एनओसीले रोकेको हो ।

एनओसीको निर्वाचन आयोगले अर्को सूचना जारी नभएसम्म चुनाव स्थगित गरिएको जनाएको छ । ‘भोलि मिति २०७६–०५–२० गते हुने एनओसीको कार्यसमितिको निर्वाचन कार्यतालिका अनुसारको मतदान कार्यक्रम अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको छ, विज्ञप्तिमा भनिएको छ ।

चुनाव रोक्न माग गर्दै अदालतबाट मान्यता प्राप्त एनओसीका सदस्य कमल बहादुर चित्रकारको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले चुनाव रोक्न अन्तरिम आदेश दिएको थियो ।

एनओसीका पूर्व महासचिव समेत रहेका चित्रकारले अवैधानिक घोषित एनओसीका अध्यक्ष जिवनराम श्रेष्ठ, खेलकुद मन्त्रालय, राखेप, जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाउदै रिट दर्ता गरेका थिए । अदालतले दुवै पक्षलाई भदौ २२ गते छलफलका लागि बोलाएको छ ।