काठमाडौं । पूर्वराजदूत केशव झा हत्याको अनुसन्धान उनकै बडीगार्ड सानुकान्छा तामाङतिर सोझिएको छ । ५० हजार लेनदेन विवादका कारण सानुकान्छाले हत्या गरेको निष्कर्ष प्रहरीले निकालेको छ ।

भदौ १ गतेदेखि अनुसन्धानमा जुटेको महानगरीय प्रहरी परिसरले झाको हत्याको अनसन्धान अन्तिम चरणमा पुगेको बताएको छ । प्रहरीको अनुसन्धान सानुकान्छातिरै सोझिएको हो ।

परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले, ‘उनीहरूबीच लेनदेन विवाद देखिन्छ, त्यो विवाद बारम्बार हुँदै हत्यासम्म पुगेको अनुसन्धानले देखाउँछ । हत्यामा अन्य कुनै बाहिरका व्यक्तिहरूको संलग्नता पुष्टि हुन सकेन’ भने ।

यो निस्कर्षसहित तामाङविरूद्ध मुद्दा चलाउन मिसिल सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भैरहेको उनले जानकारी दिए । झा हत्याको अनुसन्धानबारे केही समयमै प्रहरीले विस्तृत जानकारी दिने उनले बताएका छन् ।

बोगटीका अनुसार तामाङले झाबाट पचास ५० हजार रुपैयाँ ऋण लिएका थिए । त्यो पैँसा समयमा फिर्ता नगरेको भन्दै झाले तामाङलाई गालीगलौज गरेको बताइन्छ । त्यसमा विवाद हुँदा ‘१२ वर्ष काम गरेँ, पचास हजार पनि नदिने ?’ भन्दै सानुकान्छाले आक्रोश पोखेको बताइन्छ । ‘लामो समयसम्म काम गरे पनि तलबलगायत सेवा सुविधा नबढेको भन्दै सानुकान्छा झासँग रिसाउने गर्थे,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने ।

फ्रान्सका लागि पूर्वनेपाली राजदूत झाले १२ वर्षअघि सानुकान्छालाई बडिगार्ड राखेका बताइन्छ । तलबबारे दुई पक्षबीच विवाद रहँदै आएको छ । अनुसन्धान अनुसार तामाङले आफ्नो तलब मासिक १४ हजार रुपैयाँ भनेका छन् । तर, झा परिवारले भने १६ हजार रुपैयाँ दिँदै आएको दाबी गरेको छ । ‘हामीले व्यापक रुपमा अनुसन्धान गरेका छौँ, अन्तिम चरणमा आएको छ । हुनुपर्ने सबै सबुत प्रमाण छन्, बोगटीले भने, ‘तलबमा पनि विवाद रहेको अनुसन्धानमा देखिन्छ ।’

पोहोर साल भदौ ४ गते विहान आफ्नै निवासमा झा मृत फेला परेका थिए । उनीमाथि चक्कु प्रहार गरिएको थियो । उनको घाँटीमा गहिरो चोट लागेको थियो।
झा सन् १९९३ देखि १९९७ फ्रान्सका लागि नेपाली राजदूत थिए । ८० वर्षीय उनी श्रीमतीसँग बबरमहलमा बसिरहेका थिए ।

प्रहरीका अनुसार बाहिरबाट कोही पनि छिरेको प्रमाण भेट्न नसकिएकाले झाको घरभित्रैबाट भएको हो । र, किटानी जाहेर पनि आएपछि सानुकान्छा अनुसन्धानमा फेरि तानिएका हुन् । प्रहरी अधिकारीका अनुसार झाको घरमा दुई वटा गेट छन् । जसमध्ये पश्चिम ढोका प्रायः खुल्थ्यो । घटना भएको रात पूर्व र पश्चिमका दुवै ढोका बन्द थिए ।