काठमाडौं । मेलम्ची खानेपानी आयोजना स्थलमा विहिबार स्थानीय र प्रहरीको झडप हुदाँ गोली चलेपछि जिल्ला प्रशासन कार्यालयले त्यो क्षेत्रमा प्रवेश गर्नका लागि प्रतिबन्ध लगाएको छ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले आदेश जारी गर्दै मेलम्ची खानेपानी आयोजनाको कार्यालय तथा सुरुङ आसपासमा ५ जनाभन्दा धेरै मानिस प्रवेशमा रोक लगाइकी हुन्।

सिएमसीले काम छोडेर हिँडेपछि तिर्न बाँकी रकम खोज्दै स्थानीय ठेकेदार र कर्मचारीहरु आन्दोलित भएका थिए। आयोजनाबाट पीडित भएको भन्दै वुधबारदेखि उनीहरु शान्तिपूर्ण रुपमा धर्ना बसेका थिए।

यो क्रममा उनीहरु र प्रहरीका बीचमा विवाद हुँदा प्रहरीले दुई राउन्ड रबरको गोली र अश्रु ग्यास प्रहार गरेको थियो। देशकै राष्ट्रिय गौरवको आयोजनामा स्थानीयहरुले तोडफोड गरेर क्षति पुर्‍याउन सक्ने भएकाले उक्त क्षेत्रको सुरक्षाका लागि यस्तो आदेश जारी गरिएको सिडिओ चोम्जोङले बताइन्।

प्रहरी र आयोजना पीडितबीच झडप हुँदा दुईजना घाइते भएका थिए। उनीहरु उपचारपछि घर फर्किसकेका छन्। आयोजना स्थलमा अप्रिय घटना हुनसक्ने भएकाले ५ जनाभन्दा धेरैलाई हुलदंगा गर्ने उद्देश्यले सो क्षेत्रमा प्रवेशमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी चेम्जोङले जानकारी दिइन्। शुक्रबारबाट अर्को आदेश जारी नभएसम्म आयोजना स्थलका चारकिल्लाभित्र प्रवेशमा रोक लगाइएको छ ।