एजेन्सी । भारतले प्रक्षेपण गरेको चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्नुभन्दा अघि नै सम्पर्कविहिन भएको छ । यो संगै चन्द्रयान अवतरणको दृष्यावलोकन गर्न भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो)मुख्यालय पुगेका प्रधानमन्त्री नरेन्द्र मोदी पनि निराश हुँदै फर्किएका छन् ।

इसरोका अध्यक्ष के.सिवनले चन्द्रमा नजिकै पुगेको बेला सम्पर्क टुटेको बताएका छन् । उनले भने, ‘चन्द्रमाको सतहभन्दा २.१ किलोमिटरसम्ब सबै सामान्य थियो, तर त्यसपछि सम्पर्क टुट्यो । अब डेटाको समीक्षा गरिँदै छ ।’

चन्द्रयान–२ को विक्रम ल्याण्डर शुक्रबार राति साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमामा अवतरण गर्ने बताइएको थियो । भारतीय अन्तरीक्ष वैज्ञानिकको उपलब्धी हेर्न र बैज्ञानिकहरुको हौसला बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी पनि बैंगलुरुमा रहेको इसरो मुख्यालय गएका थिए । जब इसरोका अध्यक्षले प्रधानमन्त्री मोदीलाई सम्पर्क टुटेको जानकारी गराए, तब मोदीले उनको काँधमा हात राख्दै सान्त्वना दिए ।

मोदीले वैज्ञानिकहरुसँग भने, ‘जीवनमा उतार चढाव आउँछन् । सम्पर्क टुट्ने बेलासम्म मैले देखिरहेको थिएँ । प्राप्त भएको उपलब्धी पनि सानो होइन । देशले तपाईँहरुसँग गर्व गरेको छ । यो अभियानले धेरै कुरा सिकाएको पनि छ ।’

विक्रम ल्याण्डरलाई पहिलो चन्द्रमाको कक्षमा रहेको अर्बिटरबाट अलग गर्नु पर्ने थियो र त्यसपछि सतह तर्फ लैजानु पर्ने थियो । ल्याण्डरमा रहेको प्रज्ञान नामक रोबर अवतरणपछि बाहिर निकाल्ने योजना थियो । चन्द्रयान–२ लाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने तयारी गरिएको थियो । प्राविधिक कारणले एक हप्तासम्म स्थगित गरिएको चन्द्रयानलाई भारतले गएको साउन ६ गते अन्तरिक्षमा पठाएको हो ।

भारतको पहिलो चन्द्र अभियान चन्द्रयान–१ पनि चन्द्रमाको सतहमा अवतरण गर्न सकेको थिएन । तर, त्यसले चन्द्रमाको सतहमा विस्तृतरुपमा पानीको खोजी अघि बढाएको बताइन्छ । चन्द्रयान–२ ले चन्द्रमाको सतहमा पानी र खनिजको खोज अघि बढाउनुका साथै चन्द्रमामा गएका कम्पनसमेत मापन गर्ने भनिएको थियो ।