भक्तपुर । ओखलढुंगाको चम्पादेवी गाउँपालिका १ र २ पलापु सेवा समाज सामाजिक संस्था गठन तथा बृहत अन्तरक्रिया कार्यक्रम भक्तपुर बोडेमा भएको छ । पूर्व सभासद रामहरी खतिवडा मूल अतिथि रहेको कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि, राजनीतिक दल निकट नेता तथा समाजसेवी, बुद्धिजीवी, उद्योगी, व्यापारी, शिक्षक, सञ्चारकर्मी लगायत सहभागि भए ।

कार्यक्रममा सामाजिक संस्था गठन तथा समग्रमा चम्पादेवी पलापु क्षेत्रको सामाजिक, आर्थिक, राजनैतिक, साँस्कृतिक तथा सामयिक विषयमा केन्द्रीत भई बृहत अन्तरक्रिया भयो ।

जागिरे तथा विभिन्न पेशा व्यवसाय एवं अध्यन गरेर काठामाडौं उपत्यका रहेका र वैदेशिक रोजगारमा रहेर निरन्तर रूपमा अनौपचारिक हिसाबले विभिन्न सामाजिक सेवा र समाज रुपान्तरणको लागि काम गर्दै आइरहेका सामाजिक अभियन्तालाई संगठि गरी संस्थागत एवं औपचारिक ढंगले अघि बढ्ने संकल्प गरिएको छ ।  समाजसेवी तथा अग्रज युवराज घिमिरेले अध्यक्षता गरेकाे कार्यक्रमले संगम श्रेष्ठकाे अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेकाे छ ।

कार्यसमितिकाे उपाध्यक्ष सावित्रा तोलांगी, सचिव आदित्य मगर सह–सचिव अमृका सुनुवार र कोषाध्यक्ष हिमाल मगर रहेका छन् । यस्तै, खिम श्रेष्ठ, मंगल माझी लगायत सर्वसम्मत सदस्य भएका छन् ।

यो समितिले विधान निर्माण गरी काठमाडौ जिल्ला प्रशासनमा दर्ता गर्ने जिम्मा पाएको छ । कार्यक्रममा नेपाली कांग्रेस ओखलढुंगा जिल्ला सभापति प्रदीप सुनुवार, महासमिति सदस्य कुमार लुइँटेल चम्पादेबी –१ का वडा अध्यक्ष कुल बहादुर श्रेष्ठ र २ का वडा अध्यक्ष विष्णु पुलामी लगायतले वक्तव्य दिए ।

उनीहरुले पलापु सेवा समाजलाई अघि बढाउन आवश्यक जस्तोसुकै सहयोग गर्ने प्रतिवद्धता जनाए । समग्रमा पलापु सेवा समाजले सामाजिक विकास, सामाजिक रुपान्तरण तथा रोजगार र देश विदेशमा रहेका पलापु सामाजिक अभियन्ताबीच आपसमा सम्बन्ध स्थापित गरी आफु जन्मेको गाउँलाई दीर्घकालीन रूपमा सुविधाजनक र स्तरीय बनाउने प्रतिवद्धता कार्यक्रममा जनाइएको छ ।

पलापु सेवा समाजका अध्यक्ष संगम श्रेष्ठले आउने दिनमा पलापु सेवा समाजले कुनै पनि राजनीतिक दल निकट नरही स्वतन्त्र सामाजिक अभियानको हैसियत काम गर्ने बताए ।