काठमाडौं । केही दिनअघि चिनियाँ नागरिकले काठमाडौका विभिन्न बैंकका एटीएमबाट रकम चोरी गरेपछि दुई करोड २१ लाख नेपालीहरूले विभिन्न बैंकमा जम्मा गरेको ३३ खर्ब ५४ अर्ब रुपैयाँ सुरक्षित छ ? भन्ने प्रश्न उठेको छ । नेपाल राष्ट्र बैंकले दुई करोड २१ लाख नेपालीहरूसँग ३३ खर्ब २१ अर्ब रुपैयाँको निक्षेप विभिन्न बैंकसँग रहेको तथ्यांक दिएको छ ।

नेपालमा सबैभन्दा बढी नाफा कमाउने क्षेत्रका रूपमा परिभाषित बैंकहरूले नै आफ्नो सुरक्षा प्रविधिमा लगानी नबढाएको परिणाम देखिएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

भदौ १६ गते नक्कली भिसा कार्ड प्रयोग गरी नेपालबाट एक करोड ६८ लाख र भारतबाट एक करोड ७६ लाख गरी जम्मा तीन करोड ४४ लाख रकम निकालेको पुष्टि भइसकेको छ । केन्द्रीय बैंकले एटिएम ह्याकिङ प्रकरणमा छानबिन गर्न राष्ट्र बैंकका कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी सुझावसमेत लिएको छ ।

कहाँबाट कति रकम चोरी भयो ?
जानकारीअनुसार (भारत र नेपालबाट गरी) प्रभु बैंकबाट दुई करोड ४५ लाख, ग्लोबल आईएमई बैंकबाट ४६ लाख, सनराइज बैंकबाट २५ लाख, माछापुच्छे« बैंकबाट २१ लाख चोरी भएको छ । एनआईसी एसियाबाट १७ लाख, सिटिजनबाट तीन लाख ४५ हजार र जनता बैंकबाट दुई लाख रकम निकालेको जानकारी प्राप्त भएको छ । बैंकिङ क्षेत्रमा सञ्चालन प्रकृतिको जोखिमको प्रभाव, दबाब र असर धेरै भएको हुँदा यसअन्तर्गत पर्ने प्रविधि र जनशक्ति जोखिमसँग सम्बन्धित तत्वहरूको नियमित अनुगमन, सुपरीवेक्षण र निगरानी आवश्यक रहेको विज्ञहरूको सुझाव छ ।

के भएको हो ह्याकिङ ?
चिनियाँ नागरिकले नेपालको कमजोर अनुगमन र प्रविधि प्रयोग गरेर बैंकहरूका विभिन्न एटीएमबाट करोड बढी रकम निकालेका थिए । नेपाल राष्ट्र बैंकलगायतका बैंकिङ निकायहरूले ह्याकरहरूको आक्रमणमा परेको बताए । अहिले यस विषयमा नेपाल राष्ट्र बैंकले विस्तृत अध्ययन गरिरहेकोे छ ।

राष्ट्र बैंकले अनुसन्धानको क्रममा बैंकका डिभाइसहरूलाई ल्याबमा राखेर अनुसन्धान गर्न सिंगापुरबाट प्राविधिक टोलीसमेत बोलाएको छ । तर, आईटी तथा एटीएम ह्याकिङसम्बन्धी विज्ञहरूले शनिबार चिनियाँ नागरिकले ह्याकिङको सहयताले नलुटेको दाबी गरेका छन् । उनीहरूले साधारण तवरबाट एटीएम लुट्न सफल भएको विज्ञको दाबी रहेको छ । आईटी विज्ञ दिवस न्यौपानले अन्य देशको एटीएम कार्ड लिएर डुब्लिकेसन गरी नेपालको एटीएमबाट पैसा निकाल्न चिनियाँहरू सफल भएको दाबी गरेका छन् ।

कतिपटक चोरियो यसरी पैसा ?
उनका अनुसार नेपालमा यसरी पैसा चोरिएको तेस्रोपटक हो । डेढ वर्षअघि एनआईसी एसिया बैंकबाट यसै गरी पैसा चोरिएको थियो । आवश्यक निगरानी नभएको कारणले गर्दा नै डुब्लिकेशन ठूलो परिणाममा पैसा चोर्न सफल भएका थिए । उनले यसमा पूर्णरूपमा सम्बन्धित बैंक दोषी हुने दाबी गरेका छन् ।

न्यौपानेका अनुसार यो सबैभन्दा साधारण किसिमको आक्रमण हो, नेपालमा मात्रै नभई विश्वका अन्य देशमा पनि यस किसिमको चोरी हुने गरेको छ । नेपालमै तीनपटक भइसकेको अवस्था छ । नेपालमा कम निगरानी भएकै कारण बढी विदेशीहरूको रोजाइमा पर्ने गरेको विज्ञहरूको दाबी रहेको छ ।
आक्रमणकारीहरू नेपालमा कुन दिन वा समयमा कम निगरानी हुन्छ भन्ने जानकारी लिएर आक्रमण गर्न केन्द्रित भएको देखिन्छ । एटिएम ह्याकरसम्बन्धी जानकार न्यौपाने नेपाली नागरिकको समेत सहयोग लिएर चोरीको उद्देश्य लिएर विदेशीहरू नेपाल आउने गरेको दाबी गर्छन् । नेपालमा अन्य देशको तुलनामा कम निगरानी भएका कारण उनीहरूको रोजाइ नेपाल रहने गरेको हो ।

कसरी हुन्छ ह्याक ?
विशेषगरी तीन किसिमबाट एटीएम ह्याक हुने गरेको विज्ञहरूको भनाइ छ । सबैभन्दा सजिलो र सबैभन्दा बढी प्रयोग भनेको सक्कली कार्डजस्तै नक्कली कार्ड प्रयोग नै हो, जुन नेपालमा भइरहेको छ । एटीएम मेसिनमै ह्याकिङ गरेर आक्रमण गर्ने गरेको पनि देखिएको छ । एटीएम मेसिन नै कम्प्रोमाइज गरिन्छ । मेसिनलाई पिन पठाउनुपर्ने हुन्छ, एटीएम स्विचमा त्यो नपठाइए एटीएमभित्रबाट ओके भन्ने अन्थेन्टिफिकेसन आयो भने उसले सजिलै पैसा लैजान सक्ने विज्ञहरू बताउँछन् । त्यस्तै एटीएम स्वीच नै ह्याक गरेर पनि पैसा निकाल्ने गरेको पाइएको छ ।

राष्ट्र बैंकको कदम
………सकेपछि दैलो देख्ने नेपाली उखान चरितार्थ गर्दै गत भदौ १६ गतेदेखि मात्र नेपाल राष्ट्र बैंक अनुगमनका लागि केही सक्रिय भएको छ । राष्ट्र बैंक सक्रिय रहेकै बेला नेपालको बैंकिङ क्षेत्र नियमक निकाय र नेपाली बैंककको यथार्थ बहस पनि सुरु भएको छ । ‘कुनै सर्वसाधारणको पैसा बैंकमा छ र त्यो पैसा डुव्यो भने त्यसको भागीदार सरकार वा राष्ट्र बैंक को हुन्छ ?’ राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जीवी नेपालले केही साताअघि संसदीय समितिमा भनेका थिए । नेपालको कुल गार्हस्थ उत्पादन बराबरको रकम आमसर्वसाधारणले बैंकमा जम्मा गरेको देखिन्छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हालसम्म दुई करोड २१ लाख नेपालीसँग बैंक खाता छ । उनीहरूले ३३ खर्ब ५४ अर्ब रुपैयाँ बचत गरेका छन् । वा भनौं उनीहरूको ३३ खर्ब ५४ अर्ब रुपैयाँको निक्षेप बैंकले उठाएको छ ।

शरीरको एक अंगमा अप्रसेन गर्न‘पर्ने, तर डाक्टरले अर्कै अंगमा अप्रेसन गरेछ भन्ने बेलाबखत समाचारमा पढ्ने र सुन्ने गरिन्छ । अहिले राष्ट्र बैंकको कदम पनि त्यस्तै देखिएको विज्ञहरूको भनाइ छ । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गरेसँगै नेपाली बैंककका एटीएमहरूबाट अब एकपटकमा २० हजार र एक दिनमा ६० हजार रुपैयाँ मात्रै निकाल्न मिल्ने व्यवस्था गरेको छ । चिनियाँ नागरिकले नक्कली कार्ड प्रयोग गरेर तीन करोडभन्दा बढी पैसा चोरी गरेपछि राष्ट्र बैंकले आफ्नो उपस्थिति देखाउन यस्तो नियम बनाएको हो ।

राष्ट्र बैंक, विषय विज्ञ तथा बैंकहरू सबैले निगरानी नगरिदिँदा चोरी भएको स्वीकार गरे पनि राष्ट्र बैंक ढाकछोपमा लागेको छ । जोखिम न्यूनीकरण गर्न भन्दै एटीएममा राष्ट्र बैंकले कारोबारको सीमा घटाइएको जनाएको छ । राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक त्रिलोचन पंगेनी पनि यो निर्यण समाधानको खोजी नभएको बताउँछन् । ‘जोखिम एउटा विषयले देखिएको छ, राष्ट्र बैंकको समाधानको कदम अर्कोतिर देखियो । हामीले ‘क्यासलेस’ गर्दै जानुपर्ने यथार्थ हो,’ उनले भने, ‘तर अहिले एटीएमको कारोबार सीमा घटाइनु राष्ट्र बैंकको कच्चा निर्णयबाहेक अरू केही हुन सक्दैन ।’

आईटी विज्ञ दिवस न्यौपानले भने राष्ट्र बैंकले चालेको कदमले चोरी नियन्त्रणमा कुनै सहयोग नपुग्ने बताउँछन् । ‘अहिले निगरानी अभावका कारण एटीएमबाट चोरी बढेको हो, यसमा रकमको सीमाको कुनै भूमिका छैन,’ उनले भने, ‘चोरी नियन्त्रणभन्दा पनि चोर्न केही असजिलो पार्ने काम मात्रै भएको हो । तर यो समाधान होइन ।’ राष्ट्र बैंकको यो निर्णयमा अर्थ मन्त्रालय र बैंकर्सहरू पनि सन्तुष्ट छैनन् । पछिल्लो समय चेकबाट भन्दा बढी कारोबार एटीएमबाट हुने गरेको बैंकहरूले जनाएका छन् । एटीएमबाट कारोबार बढ्दै जाँदा बैंकमा कम जनशक्तिले धेरै काम भएको छ ।

के अर्थमन्त्रीले पहिले थाहा पाएका थिए ?
अर्थमन्त्री डा. युवराज खतिवडाले एटीएम आक्रमणमा पर्न सक्ने विषय आफूलाई पहिले नै थाहा भएको संकेत गरेका छन् । उनले आक्रमण हुनुभन्दा दुई हप्ताअघि राष्ट्र बैंकलाई पत्रमार्फत सतर्कता अपनाउन निर्देशन दिएको बताएका हुन् । तथापि निर्देशन र एटीएममाथि आक्रमण हुनु संयोग मात्रै पनि हुनसक्छ, तर अर्थमन्त्री खतिवडाले यो विषयलाई खुलाएका छैनन् । उनले बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमतिसँगको भेटघाटमा आफूले पहिले नै एटीएमबाट चोरी हुन सक्ने चेतावनी दिँदै सचेत रहन यस्तो निर्देशन पठाएको र आवश्यक निगरानी नपुग्दा चोरी भएको बताएका थिए । ‘मैले दुई हप्ताअघि नै राष्ट्र बैंकलाई पत्रमार्फत निगरानी बढाउन निर्देशन दिएको थिएँ । दुई हप्तापछि यस्तो आक्रमण भयो,’ अर्थमन्त्री डा।खतिवडाले भने ।

कसरी भयो चोरी ?
चिनियाँ ह्याकरहरूले एटीएमबाट रकम झिक्ने क्रममा सूचना अपरेटका लागि चिनियाँ सामाजिक सञ्जाल वीच्याटको समेत प्रयोग भएको पाइएको छ । एटीएम बुथको लोकेसन, नेटवर्क ह्याक गर्न मिल्ने कोड नम्बर प्राप्त गरी सो कोर्ड हानी एटीएम भित्रको सबै रकम निकालेको देखिन्छ । ह्याकरहरूले मोबाइल, ल्यापटप, डिभाइसहरूको प्रयोग गरी वीच्याटमार्फत आदेश प्राप्त गरी विभिन्न बैंकबाट रकम लुटेका हुन् । यसरी हाइटेकमा आएको यसप्रकारको चुनौती नेपालको बैकिङ इतिहासमा पहिलो हो । फरकफरक तरिकाले बारम्बार हुने यसप्रकारका सञ्चालन प्रकृतिका घटनाहरूबाट प्रविधि वा साइवर सुरक्षामा चुनौती थपिएको नेपाल प्रहरीका एक अधिकृतको भनाइ छ ।

के छ एटीएमको इतिहास ?
पहिलोपटक विश्वमा एटीएमको आविष्कार ब्रिटिस जोन एर्डिएन सेफेर्ड बरोनले गरेका हुन् । १९६७ मा उनले एटीएम मेसिन आविष्कार गरी प्रयोगमा ल्याएको हो । नेपालमा भने पहिलोपटक नविल बैंकले १९९० मा क्रेडिट कार्ड र हिमालयन बैंकले १९९५ मा एटीएम कार्ड प्रयोगमा ल्याएको देखिन्छ । हाल नेपालमा तीन हजार ३१६ एटिएम रहेका छन् । त्यस्तै, डेविट कार्ड ६७ लाख आठ हजार, क्रेडिट कार्ड एक लाख २३ हजार, प्रिपेड कार्ड ६७ हजार चार सय प्रयोगमा आएको केन्द्रीय बैंकको तथ्यांकले दखाएको छ ।