जाजरकोट । भाइरल ज्वरोले एक बालिकाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका ६ घर भइ सदरमुकाम खलंगा थाप्लेमा बस्दै आएकी १४ वर्षीया आशा विकको मृत्यु भएको हो ।

ज्वरो आउने, घाँटी, टाउको र हातखुट्टा दुख्नेलगायत समस्या देखिएपछि उनी गएको हप्ता जिल्ला अस्पताल भर्ना भएकी थिइन् । हपता दिनमा उनको अवस्थामा सुधार नआएपछि अस्पतालले नेपालगञ्ज रेफर गरेको थियो ।

उपचारका लागि नेपालगंज लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको आफन्तले बताए । उनका बाबुआमा मजदुरीका लागि ५ वर्षदेखि भारतको हिमान्चलमा बस्दै आएका छन् ।

केही दिन यता जिल्ला अस्पताल र स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढेका स्वास्थ्कर्मीले बताए । जिल्ला अस्पतालमा दैनिक डेढ सय बिरामी आउने गरेकोमा आधा बिरामी भाइरल ज्वरोका आउने गरेको डा. केशर कार्कीले जनाएका छन् । बिरामी बढ्दै गएसंगै औषधिको अभाव हुन थालेको उनले बताए ।