काठमाडौं । नेपाल र चीनबीच पारस्परिक सहकार्य र साझेदारी नामका तीनवटा सहमति भएका छन् । नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा भएको द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तामा दुई देशबीच दुई वटा ‘लेटर अफ् एक्सचेञ्ज’ र एउटा समझदारीपत्रमा हस्ताक्षर नै भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहितको बैठकमा अर्थसचिव राजन खनाल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिआईसीडीए) का उपाध्यक्ष डेङ बोकिङले आपत्कालीन आवास तथा मनाङ अस्पताल पुनःनिर्माण परियोजनासम्बन्धी ‘लेटर अफ् एक्सचेञ्ज’मा हस्ताक्षर गरे ।

आपत्कालीन आवास सहायताअन्तर्गत ९५ लाख चिनियाँ युआन बराबरका पाँच हजार त्रिपाल चीन सरकारले उपलब्ध गराउनेछ भने मनाङ अस्पताल पुनःनिर्माणका निम्ति दुई करोड २० लाख युआन (३५ करोड) प्रदान गर्नेछ ।

त्यसैगरी स्वयंसेवक चिनियाँ शिक्षक कार्यक्रमसम्बन्धी समझदारीपत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश्वर दाहाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले हस्ताक्षर गरिन्

सौहाद्र्रपूर्ण वातावरणमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचार–विमर्श भयो । परराष्ट्रमन्त्रीद्वय ज्ञवाली र वाङले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरे ।

यस्तै, वार्तामा दुई देशबीच विगतमा भएका सन्धि सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको समीक्षाका साथै तिनको द्रुत कार्यान्वयनमा जोड दिइएको छ । चिनियाँ पक्षले त्यसलाई सकारात्मक रुपमा लिएको वार्तामा सहभागी एक अधिकारीले बताए ।

नेपालको विकासको भरपर्दो साझेदार चीनले हासिल गरेको भौतिक एवं आर्थिक विकासबाट नेपाल कसरी लाभान्वित हुनसक्छ भन्ने विषयका साथै द्विपक्षीय हित, क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका मामिलामा पनि द्विपक्षीय वार्तामा गहन छलफल भएको छ ।

आलोचना

चीनसँग गरिएको एउटा सम्झौताको कटु आलोचना भएको छ । विदेशमन्त्री भ्रमणका क्रममा त्रिपाल लिने सम्झौता गर्नु मगन्ते प्रवृत्ति भएको भन्दै सरकारको आलोचना भएको हो । यस्तै, चिनियाँ विदेशमन्त्रीको भ्रमण राष्ट्रपति सीको भ्रमणबारे मौन रहेको भन्दै आलोचनात्मक टिकाटिप्पणी भइरहेका छन् ।