एजेन्सी । युरोकप छनोटमा बेल्जियम र नेदरल्याण्ड्सले ठूलो अन्तरको जित हासिल गरेका छन् । बेल्जियमले स्कटल्याण्डलाई ४–० ले हराउँदा नेदरल्याण्ड्सले पनि इस्टोनियालाई ४–० ले नै हरायो ।

स्कटल्याण्डको मैदानमा भएको खेलमा केभिन डी ब्रायनले उत्कृष्ट प्रदर्शन गरे । उनले तीनवटा एसिस्ट र एक गोल गरेका थिए । नवौं मिनेटमा रोमलु लुकाकुले गोल गरेका थिए । २४औं मिनेटमा थोमस भर्मा्लिनले र ३२औं मिनेटमा टोबी एल्डरवेरल्डले गोल गर्दा पहिलो हाफअघि बेल्जियमले तीन गोलको अग्रता लियो ।

यी तीनवटै गोलमा ब्रायनको एसिस्ट थियो । ८२औं मिनेटमा डि ब्रायनले लुकाकुको पासमा गोल गर्दै बेल्जियमलाई ४–० को जित दिलाए ।

अर्को खेलमा नेदरल्याण्ड्सले इस्टोनियालाई ४–० ले नै हरायो । इस्टोनियामा भएको खेलमा नेदरल्याण्ड्सका लागि रायन बाबेलले दुई गोल गरे भने मेम्फिस डिपेले दुई एसिस्ट र एक गोल गरेका थिए ।

जर्मनीले उत्तरी आयरल्याण्डलाई हराएको छ । उत्तरी आयरल्याण्डमा भएको खेलमा जर्मनीले दोस्रो हाफमा दुई गोल गर्दै जित हात पारेको हो । जर्मनीको जितमा मार्सेल हाल्स्टेनबर्गले ४८औं मिनेटमा र सेर्जी ग्नाब्रीले अतिरिक्त समयमा गोल गरे ।