काठमाडौँ । कांग्रेस संस्थापक बीपी कोइरालाको १०६औँ जन्मजयन्तीको अपसर पारी नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान चलाउँदै छ । मंगलबार १०६औँ बीपीजयन्ती परेको छ । यसैको प्रतिक स्वरुप हरेक प्रदेशसभा क्षेत्रमा यही संख्यामा विरुवा रोपेर अभियानको उद्घाटन गर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसले मंगलबार देशभरका सबै प्रदेशसभा क्षेत्रमा गरी कुल ३४ हजार ९८० बिरुवा रोप्दै छ । कांग्रेसले यो चरणको अभियानलाई मुलतः प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित गरेको छ । कार्यक्रमका लागि कांग्रेसले ३३० प्रतिनिधि तोकेको छ । सबै प्रतिनिधि आफ्नो क्षेत्रमा पुगेको जनाइएको छ ।

जागरण अभियान क्रममा सामाजिक संवाद, युवा केन्द्रित विशेष संवाद, संविधान दिवसका कार्यक्रम, वडा स्तरीय अन्तरक्रिया, स्थानीय तहको दुई वर्षे समीक्षा, पार्टी प्रवेश कार्यक्रम आदि हुने कांग्रेस पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

१५ दिने अभियानको अन्तिम दिन असोज ७ गते ७७ जिल्लामा एकसाथ प्रदर्शन गर्ने कांग्रेसको तयारी छ।