काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन उदघाटनको छेको पारेर निगमले डिजेल र मट्टितेल तथा पेट्रोलमा प्रतिलिटर दुई–दुई रुपैयाँ घटाएको हो ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार मंगलबार मध्याह्न १२ बजेदेखि डिजेल–मट्टितेल र पेट्रोलमा घटेको मूल्य लागू हुनेछ । मूल्य घटेसँगै प्रतिलिटर डिजेल–मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ । निगमले मंगलबार मात्रै भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउन थालेको छ । योसँगै, वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च जोगिने निगमले जनाएको छ ।

यस्तै, पाइपलाइन सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । पाइपलाइनको नेपालतर्फको ३७.५ किलोमिटरको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले पाएको जानकारी सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले दिए ।

ढुवानी बचत
मुलुककै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएसँगै वार्षिक करिब ५० करोड रुपियाँ ढुवानी खर्च बचत हुने नेपाल आयल निगमले जनाएको छ । भारतबाट आयात गरिने ७० प्रतिशत इन्धन रक्सौल–अमलेखगन्ज हुँदै नेपाल भित्रिने गर्छ । अहिले निगमले प्रतिलिटर दुई रुपियाँ पचास पैसा ट्याङ्करलाई भाडास्वरूप तिर्दै आएको छ । मोतिहारीदेखि रक्सौलको नेपाल–भारत सीमासम्म ३२.८० किलोमिटर र सीमादेखि अमलेखगन्जस्थित निगमको क्षेत्रीय डिपोसम्मको ३६.२८ किलोमिटरको दूरीमा पाइपलाइन बिछ्याइएको छ ।