विराटनगर । शैलजा आचार्य स्मृति पोली टेक्निकलका कर्मचारी तथा प्रशिक्षक आन्दोलनमा उत्रिएका छन् । नेपाल सरकारले निर्धारण गरेको तलब, सेवा र सुविधा माग्दै उनीहरु शुक्रबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।

कृष्णप्रसाद कोइराला सेवा गुठी भवन र सीटीईभीटीको संयुक्त साझेदारीमा सञ्चालित पोली टेक्निकलमा कार्यरत प्रशिक्षक र कर्मचारी सरकारले तोके अनुसार तलब, भत्तालगायत सुविधा नपाएको भन्दै विगत चार दिनदेखि आन्दोलनमा छन् ।

जाहदा–४ स्थित शिशवनीमा सञ्चालित टेक्निकलमा ७० प्रशिक्षक तथा कर्मचारी कार्यरत छन् । उनीहरुले शुक्रबारदेखि सोमबारसम्म पेनडाउन गर्नुको साथै भदौ ४ गतेदेखि कालो पट्टी बाँधेर विरोध गर्ने, २५ गतेदेखि सम्पूर्ण प्रशासनिक कार्यालयमा तालाबन्दी गर्नेलगायतका कार्यक्रम राखेका छन् । कर्मचारीले गरेको पेनडाउनले अध्यापन प्रभावित भएको छ ।

सरकारले बढाएको तलव थप गर्न ध्यानाकर्षण गराए पनि सुनवाई नभएपछि शुक्रबारदेखि आन्दोलनमा उत्रिएको नर्सिङ्ग प्रशिक्षक शशीकला तिवारीले बताइन् ।
प्रशासनले एक वर्षको लागि दिइने नियुक्ति पत्रमै उल्लेख गरिदिने भन्दै तलब वृद्धिमा आलटाल गरेको प्रिन्सिपल सुनिता राउतको भनाइ छ । काम गरे वापत पाउने सेवा सुविधाको बारे बुझ्न जाँदा काम गर्ने मन छैन भने नगर्नु भन्दै धम्की दिने गरेको उनले बताइन् ।

कर्मचारी तथा प्रशिक्षकले सम्पूर्ण तलव सेवा सुविधा सरकारी नियम अनुसार दिनुपर्ने, नियमित र अन्य प्रशिक्षकको सुविधामा महगी भक्ता र लुगा भक्त दिनु पर्ने, गत वर्षदेखि अनिवार्य रुपमा गर्नुपर्ने भनिएको सञ्चय कोषमा जम्मा हुनुपर्ने रकम वर्तमान सेवा सुविधाबाट नभई अगामी वृद्धि हुने तलबबाट हुनुपर्ने, जीवन बिमा र दुघर्टना बिमाको सुविधा गर्नु पर्ने, ग्रेड वृद्धि पनि सरारी नियम अनुसार तह अनुरुप कायम गर्न माग शैलजा अचार्य स्मृति पोली टेक्निकल संञ्चालक समितिका सदस्य मोहनलाल महतोले सरकारले निर्धारण गरेको अधारभूत तलव दिने गरेको बताए ।

उनले सीटीईभीटीको केही सहयोग र विद्यार्थीको भर्ना वापत जम्मा हुने रकमले नै कर्मचारी र प्रशिक्षकको तलव र सुविधा दिनु पर्ने भएकाले आम्दनी अनुसार तलव र सुविधा दिने उनको भनाई छ ।