काठमाडौं । नेपाली महिला टोली किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको फाइनलमा पुगेको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा ताजिकिस्तानलाई १–० ले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।

काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सावित्राले निर्णायक गोल गरेकी हुन् ।

सावित्राले खेलको ८५औं मिनेटमा गोल गरिन् । गिता रानाले प्रहार गरेको फ्रिकिकमा सावित्राले हेड गोल गरेकी थिइन् । प्रतियोगितामा सावित्राको यो पाँचौं गोल हो ।

कप्तान निरु थापाबिना मैदान उत्रिएको नेपालले पहिलो हाफमा पाएको मौका सदुपयोग गर्न सकेको थिएन । उज्वेकिस्तानविरुद्धको खेलमा घाईते भएपछि निरु मैदान बाहिरै रहिन् । निरुको अनुपस्थितिमा नेपालको कप्तानी रेनुका नगरकोटीले गरिन्

ताजिकिस्तानविरुद्ध पहिलो हाफमा नेपालले एक गोल गरेपनि गोलको मान्यता पाएको थिएन् । पहिलो हाफको इन्जुरी समयमा मन्जली कुमारी योन्जनले गोल गरेपनि रेफ्रीले अफसाइडको इशारा गर्दा नेपाल अग्रता बनाउन चुकेको थियो ।

दोस्रो हाफमा भने प्रशिक्षक हरि खड्काले तीन फरवार्डलाई मैदान उतारेका थिए । जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । र, नेपाल शीर्ष दुईमा रहदै फाइनल पुगेको छ । नेपालले पहिलो खेलमा आयोजक किर्गीस्तानलाई ८–२ गोल अन्तरले पराजित गरेको थियो ।

घरेलु मैदानमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीमा नेपालले यस प्रतियोगिता खेलेको हो । १३औं साग मंसिर १५ बाट २४ सम्म हुनेछ ।