एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई बर्खास्त गरिदिएका छन् । इरान, अफगानिस्तान र अन्य विश्वव्यापी चुनौतीबारे मतभेद बढेपछि राष्ट्रपति ट्रम्पले बोल्टनलाई बर्खास्त गरिदिएका हुन् ।

बोल्टनले ट्रम्पको परराष्ट्र नीतिप्रति असहमति जनाएका थिए । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत जोनले राजीनामा दिएको पुष्टि गरेका छन् ।
बोल्टनले सन् २०१८ को अप्रिलबाट ट्रम्प प्रशासनको सुरक्षा सल्लाहकारको भूमिका निर्वाह गरेका थिए ।

उनी माइक फ्लाइन र एचआर म्याकमास्टरपछि राष्ट्रपति ट्रम्पका तेस्रो सुरक्षा सल्लाहकार भए हुन् । राष्ट्रसंघको महासभा शुरु हुनु एक हप्ता अघि मात्र सुरक्षा सल्लाहकार बोल्टनको राजीनामा आएकाले विश्व मञ्चमा ट्रम्पले आफ्ठेरोको सामना गर्नुपर्ने अड्कल काट्न थालिएको छ ।

पछिल्ला दिनमा बोल्टन र विदेश सचिव माइक पोम्पेओबीच राष्ट्रपति ट्रम्पको चाहना अनुसार विभिन्न देशका राष्ट्र प्रमुखहरुसँग कसरी वार्ता गराउने भन्ने बारेमा तनाव बढेको थियो ।

इरानी राष्ट्रपतिसँग गर्ने भनिएको वार्ताका लागि सहजिकरण नगरेको आरोपमा ट्रम्ले बोल्टनलाई बर्खास्त गरेको बताइएको छ । पछिल्लो समय बोल्टनलाई ह्वाइटहाउसका सूचना चुहावट गरेको पनि आरोप लागेको छ ।