भक्तपुर । देशभरि फैलिएको डेंगे भक्तपुरमा प्रकोपकै रुपमा फैलिँदै गएको छ । एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेंगे भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुरमा ९९ जना बिरामीमा डेंगेका विरामी रहेको नकारी दिए । यो रोगको सङ्क्रमण बढ्दै गएको बताउँदै उनले अहिले प्रत्येक टोल, गल्ली र विद्यालयहरु डेङ्गु रोगको जोखिममा रहेको बताए ।

उनले टोल, नगर, विद्यालय लगायतका हरेक क्षेत्रमा यस रोगबारे जनचेतनामूलक कार्यक्रमहरु भइरहेको जानकारी दिई सबै क्षेत्रमा खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने र फोहरहरु नराख्ने कार्य गर्नुपर्ने बताए ।

यता भक्तपुर नगरपालिका क्षेत्रमा मात्रै ४० जना डेंगे रोगका बिरामी फेला परिसकेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । उनले भक्तपुर नगरपालिका क्षेत्रभित्रका ३७ र अन्य क्षेत्रका तीन जना गरी ४० जनामा डेंगे भेटिएको बताए ।

उनले भक्तपुर नगरपालिकाले डेंगे रोग नियन्त्रणसम्बन्धी वडा र विद्यालयमा अभिमुखीकरण कार्यक्रम, खाल्डाखुल्डी पुर्ने र चुन तथा फिनेल छर्ने, घरदैलो नर्सिङ सेवामार्फत डेंगे रोगबारे सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।