एजेन्सी । शक्ति राष्ट्र अमेरिकाको न्यूयोर्कमा मुख्यालय रहेको राष्ट्रसंघको महासभा बैठकको चहलपहल शुरु भएको छ । राष्ट्रसंघको छाताभित्र रहेका मुलुकका राष्ट्र प्रमुख सहभागी हुने महासभा बैठकलाई विश्वभर चासो पूर्वक हेरिन्छ । न्यूयोर्कमा हरेक वर्ष विभिन्न विषयमा हुने छलफल र राष्ट्रप्रमुख सहभागी बैठकले गर्ने निणर्यलाई महत्वपूर्ण मानिन्छ ।

यस प्रकारको बैठकमा सम्भव भएसम्म राष्ट्रप्रमुख, राष्ट्रप्रमुख सम्भव नभए उपप्रमुख, त्यो पनि सम्भव नभए परराष्ट्र मन्त्री, या अन्य विभागीय मन्त्री र त्यो पनि सम्भव नभए परराष्ट्र विज्ञ सचिवसरहका विशिष्ट व्यक्ति सहभागी हुने प्रचलन रहिआएको छ ।

अहिले न्यूयोर्कस्थित मुख्यालयले सहभागी राष्ट्रहरुको नाम, राष्ट्रप्रमुखलाई आमन्त्रण पठाउने, पत्रकारलगायत, विभिन्न संघ संस्थाका विशिष्ट व्यक्तिलाई अनुमति तथा निमन्त्रणा पत्र दिने लगायतका काम टुङग्याएको छ ।

हरेक वर्ष सेप्टेम्बर महिनामा आयोजना हुने यस प्रकारको कुम्भ मेलाका बारेमा मुख्यालयले कार्यतालिका समेत सार्वजनिक गरेको छ । यसो त अमेरिकामा यसरी हुने राष्ट्रिय स्तरका छलफल, बैठक तथा चुनाव पूर्वनिर्धारित तालिका अनुसारनै हुने गरेका छन् ।

कार्यतालिकाअनुसार सेप्टेम्बर महिनाको १७ तारिख संयुक्त राष्ट्र संघको ७४ औं महासभा बैठकको औपचारिक समुदघाटन हुनेछ । कार्यतालिकाअनुसार २४ र २५ तारिखमा दीगो विकासका लागि उच्चस्तरीय राजनीतिक बैठक तथा छलफल हुनेछ । यस छलफलमा नेपालले समेत सहभागिता जनाउने छ । यस पटकको बैठकमा नेपालबाट प्रधानमन्त्री सहभागी नहुने र परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने जानकारी प्राप्त भएको छ ।

यस्तै २१ तारिख यूथक्लाइमेट समिट, २३ तारिख क्लाइमेट एक्सन समिट र विश्वव्यापी स्वास्थ्य विषयक उच्चस्तरीय बैठक हुनेछ । २४ तारिखका दिनदेखि विभिन्न राष्ट्रका लागि छलफलमा सहभागी हुने फ्लोर ओपन गरिनेछ । यस्तै २५ तारिख बालबालिकाको अधिकार राइट्स अफ चाइल्ड विषयक उच्चस्तरीय छलफल हुनेछ ।

२६ तारिखका दिन विकासका लागि लगानी विषयक उच्चस्तरीय वार्ता हुनेछ । भने २७ तारिखका दिन उच्चस्तरिय बैठक हुनेछ जहाँ पूनरावलोकन, प्रगति, विकासका चरण, भएका उपलब्धी विषयमा छलफल हुने कार्यतालिका सार्वजनिक गरेको छ । यस प्रकारको बैठकमा विभिन्न देशका राष्ट्र प्रमुखलाई अमेरिकी राष्ट्रपतिले रात्रि भोज दिने प्रचलन छ ।