भद्रपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले अबको ५० वर्ष कम्युनिष्टकै सरकार रहनसक्ने बताएका छन् । झापाको विर्तामोडमा भएको गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभामा उनले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै ५० वर्ष कम्युनिष्टकै सरकार रहनसक्ने अभिव्यक्ति दिएका हुन् ।

अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिष्ट शक्तिले सरकारको नेतृत्व गरेको नरुचाउने तत्वले कम्युनिष्ट आन्दोलन र त्यसको नेतृत्वविरुद्ध जनतामा केही भ्रम सिर्जना गर्न खोजेको बताए । उनले, ‘आम जनताले पाँच वर्ष मात्र नभएर अबको पचासौँ वर्षसम्म कम्युनिष्टले नै सरकार चलाएको हेर्न चाहेका छन्’ भने ।

जनताको राजनीतिक अधिकार सुनिश्चित गर्ने जनआन्दोलन र जनयुद्धको नेतृत्व कम्युनिष्ट पार्टीबाट र सङ्घीय गणतान्त्रिक संविधानको निर्माण त्यसका नेतृत्वको सुझबुझपूर्ण एकताबाट भएको जनाउँदै अध्यक्ष प्रचण्डले भने, ‘आर्थिक समृद्धि र शान्तिको युगतर्फ मुलुकलाई लैजाने अवसरसमेत नेपाली जनताले हामीलाई नै सुम्पिएका छन् ।’

त्यही कार्यक्रममा नेकपाका नेता एवं संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्बाङले लामो सङ्घर्ष र बलिदानको जगमा जनता आफैँले लेखेको वर्तमान संविधान संसारकै उत्कृष्टमध्येको संविधान भएको बताए ।