काठमाडौं । नेपालमा उत्पादित तरकारी यूएई पुग्न थालेको छ । नेपालबाट निर्यात गरिएको तरकारी शारजाहको सफारी मलमा बिक्रीसमेत सुरु भएको छ ।

यूएईको अल समन इन्टरनेशनल नामक कम्पनीले नेपालमा उत्पादित तरकारी यूएईको बजारसम्म लगेको हो । ‘सफारी मल’को तरकारी पाउने ठाउँमा नेपाली तरकारी लेखेर स्थानीय बजारको मूल्यमा बिक्री भैरहेको छ ।

त्यसरी राखिएका तरकारीहरुमा सिमी, बोडी, फर्सी, लौका र घिरौला छन् । त्यस्तै तितेकरेला, खुर्सानी, गुन्द्रुक तथा अन्य धेरै तरकारी राखिएको अल समन इन्टरनेशनलका कल्याण घिमिरेले बताए ।

नेपालका विभिन्न स्थानबाट सिधै कृषकसँग सम्पर्क गरेर काठमाण्डौमा तरकारी संकलन गरिने र नेपालबाट एकै दिनमा तरकारी उडानबाट सिधै यूएई पुग्ने घिमिरेको भनाइ छ ।

अल समन इन्टरनेशनल प्रालीले दुई वर्षदेखि कतारमा नेपाली तरकारी पठाउन थालेको थियो । अहिले त्यही कम्पनीमार्फत कतारमा हरेक हप्ता १० हजार केजीभन्दा धेरै तरकारी बिक्री भैरहेको कम्पनीले जनाएको छ ।

नेपाली कृषकको मेहनत र श्रमको उचित मूल्यसहित प्रोत्साहन गर्ने कम्पनीले योजना बनाएको छ । स्तरीय तथा अर्गानिक नेपाली तरकारीको बजार प्रशस्तै भए पनि पहिचान बनाउन समय लाग्ने घिमिरेको भनाइ छ ।

यूएईमा नेपालीको संख्या बढेसँगै नेपाली तरकारीको माग पनि बढेको छ । त्यस्तै अन्य विदेशी नागरिकले पनि नेपाली उत्पादनलाई राम्रो भनी प्रतिक्रिया दिएका छन् ।