काठमाडौं । नामः विनिता पोख्रेल । स्थायी ठेगानाः पोखरा महानगर–१४ चाउथे । हालः ललितपुर महानगर–४ एकान्तकुना । पढाईः स्नातकोत्तर तह । स्नातकः बायोटेक्नोलोजी, काठमाडौं विश्वविद्यालय । परिवारः सुखी परिवार । जम्मा ४ जना । आमा, बुबा, भाई र आफु । उमेरले २५ टेकिन् । तर, उनको आँट भने ठूलो । यो उमेरमै उद्यमी । हुन त मान्छेलाई आँट्न वा प्रगतिपथमा लम्किन उमेरले छेक्दैन भनिन्छ । यद्यपि, उनले रोजेको उद्यमलाई हेर्दा असाध्यै ठूलो आँट भन्नु पर्छ । असाध्यै चुनौतीपूर्ण उद्यम रोजिन्, उनले । मदिराजन्य उद्योग । महिलाले मदिराजन्य उद्यम गर्ने ? भन्दा मान्छे अचम्म पर्छन् । यद्यपि, उनको उद्योगले कडा खाले मदिरा उत्पादन गर्ने भने होइन, फलफूलबाट वाईन बनाउँछ । त्यो पनि नेपाली किसानले उत्पादन गरेका फलफूलबाट ।

नेपालको सामाजिक संरचना र चेतनास्तरले उनको कामलाई हत्तै पचाउँदैन । त्यसैले होला उनलाई सुरुका दिनमा निकै कठिनाई झेल्नु परेको । तर, उनी पछि हटिनन् । यो आँट गरेको साढे २ वर्ष भयो, उनले । एक डेढ वर्ष त विनितालाई कम्पनी दर्ता, उद्योग स्थापना तथा आवश्यक पूर्वाधार एवं प्रक्रिया पूरा गर्न लाग्यो । त्यति मात्रै होइन परिवारलाई सम्झाई बुझाई गर्नमै पनि उनको केही समय वित्यो ।

वाईन उत्पादनको काम गर्ने भन्दा परिवारलाई निको लागेको थिएन, उनी भन्छिन्, ‘परिवारलाई मनाउन पनि समय लाग्यो । हामी त ब्राह्मण परिवारको । त्यसमा पनि हाम्रो पूख्र्यौली स्याङ्जा भएकाले हामीलाई प्राय निजामति सेवातिरै बढी प्रेरित गरिन्थ्यो । त्यसकै लागि बढी दबाब हुन्थ्यो । त्यही कारण आफुले बनाएको सोंच पूरा गर्न पनि निकै प्रतिक्षा गर्नु परेको हो ।’ हाम्रो घरपरिवार र छरछिमेकले सोंचे भन्दा नितान्त भिन्न हो यो, त्यसैले सुरुवात गर्नै पनि धेरै चुनौतीहरु रहे, उनले भनेकी छन् ।

अचम्म के भने, विनिताका बुबाले आफु व्यापार व्यवसाय नै गर्छन् । तर, छोरीले इलम गर्न खोज्दा सुरुमै स्यावासी दिन भने सकेनन् । बाबु भएका नाताले छोरीको इलमले कतै अफ्ठेरो पर्छ कि भनेर चिन्ता लिनु भने स्वभाविकै हो । अहिले भने छोरीले गरेको काममा उनको कुनै गुनासो छैन, कुरा बुझिसकेका छन् । विनिताको परिवारले मात्रै होइन, अहिले सबैले कुरा बुझेका छन् । यतिसम्म कि, पहिले बरु विदेश जाउ यस्तो काम पनि गर्छन् भन्नेले अहिले ‘असाध्यै राम्रो’ भन्ने गरेका छन् ।

उद्योग र उत्पादन
उनको कम्पनीको नाम हो, पिवर जोय प्रा.लि.। उद्योग चाँहि ‘आईई फुड एण्ड वेभरेज उद्योग’ । ललितपुर महानगर–२४ धापाखेलमा छ । व्यवस्थापकीय एवं विक्रिप्रवद्र्धनको कार्यालय जावलाखेलमा । उत्पादन गर्न थालेको १ वर्ष भयो । अहिले आरुबखडाबाट बनाइएको दुईटा ब्राण्ड आएको छ ।

एउटा मेट्स र अर्को मेट्स प्रिमियम । दुईटैको बोतल ७५० ‘एमएल’ मिलिलिटरको छ । अब केही समयपछि ४ लिटरको निकाल्ने तयारी छ । त्यतिमात्रै होइन, अब लगत्तै स्याउ, केरा, नास्पाति, आँप र किवीको वाईन पनि बन्दै छ ।

विशेषता
नेपाली किसानले उत्पादन गर्ने फलफूलबाट बन्ने भएकाले नेपाली किसानलाई पनि फाइदा, उपभोक्तालाई पनि स्वदेशी स्वाद । गुणस्तरबारे प्रश्नै छैन । कारणः ल्यावमा लैजानै पर्दैन,–उच्च प्रविधिबाट बनेको । अनि, फ्रुटनेश जोगाउन असाध्यै मेहिनत गरिएको । विनिता भन्छिन्, ‘फलफूलबाट वाईन बनाउँदा फ्रुटनेश जोगाउनु निकै कठिन मामिला हो । हामीले त्यसैमा बढी ध्यान दिन्छौँ । त्यही कारण पनि हामी अरु भन्दा निकै भिन्न छौँ ।’ प्रविधि पनि युरोपीयन । अर्कोेतिर सम्बन्धित विषय पढेर यो क्षेत्रमा लागेकाहरु कमै छन् । उनले थपिन्, ‘मैले त विश्वविद्यालमा पढेको मूल विषय नै यहि हो । बायोटेक्नोलोजी । त्यो पनि हामीले खाद्य र प्रविधिका विविध पक्षबारे पढेका हौँ । त्यही कारण हामी आफुलाई एकेडेमीक उद्योगी दावी गर्छौँ ।’ अर्कोतिर आफुहरु निरन्तर रिसर्चमा रहने भएकाले टेष्टमा निकै भिन्नता रहेको उनको भनाई छ । समान्यतया वाईनमा ६ देखि १७ प्रतिशतसम्म अल्कोहलको मात्रा हुने गर्छ । तर, मेटिसमा अल्कोहलको मात्रा ११.५ प्रतिश छ ।

धन्नै अमेरिका गएको…..
उनले आफ्ना केही अनुभव सुनाईन् । यो उद्योगको आँट गर्नुअघि उनी पीएचडी गर्न भन्दै धन्नै अमेरिका गएकी । नेपालमा बायोटेक्नोलोजी पढेकालाई त्यति अवसरहरु छैन, उनले भनिन्, ‘अमेरिका जानै लागेको थिएँ । तर, एकाएक रोकिँए । त्यही बेला परिवारले पनि यो उमेरमा अब विदेश नपठाउने भन्यो । जे होस्, अमेरिका यात्रा रोकियो ।’ पछि उनले निकालेका धेरै उपाय मध्ये यो उपाय काम लाग्यो । उनले स्नातक तह पढ्दा आफुसँगै पढेका ३१ जना मध्ये २७ जना अहिले अमेरिकामै रहेको सुनाईन् । अमेरिका गएको भए अहिले उतै हराइन्थ्यो, अहिले यति कलिलो उमेरमा कहाँ यद्योगी भइन्थ्यो र ?, उनले अगाडि थपिन्, ‘अमेरिकामा पढेर फर्किँदा समय गइसक्थ्यो । आफै स्वरोजगार भएर नेपालकै महिलालाई स्वरोजगार बनाउने यो अवसर यति चाँडै जुर्दैन थियो ।’ उनको उद्योगमा काम गर्ने एक जना सेक्युरिटी गार्ड बाहेक सबै महिला नै छन् । उनको कम्पनीको शेयर सदस्य जतिपनि महिला नै ।

अमेरिकामा रहेका साथीहरु के भन्छन् ?
उनलाई अमेरिका जान मन छ । तर, उत्तै हराउन होइन, घुम्नलाई मात्र । अब त पढ्नलाई पनि जाने रहर छैन, उनलाई । कारणः–साथीहरुको दुःख सुन्दै पुगिहाल्यो । किन र ? साथीहरु के भन्छन् ? जवाफमा उनले भनिन्, ‘के हुनु दुःख छ, भन्छन् । बरु नेपाल फर्किने कुरा गर्छन् । तर, नेपाल फर्केर पनि के गर्ने अन्योल छ । यस्तै कुरा गर्छन् ।’ तर, साथीहरुले नेपालमा सम्भावित भएका ठाउँहरुबारे पनि सँधै सोधीखोजी गर्ने गरेको विनिताको भनाई छ ।

वाईन उद्योगमा कसरी ?
विनिताले आफुले पढेको बायोमा वाईन मेकिङ् अर्थान् वाईन बनाउनेबारे पढेको सुनाईन् । बायोमा खाद्यका विभिन्न पाटोबारे पढ्नु पर्छ । अनि, उनले १२ हप्ता अरुकोमा इन्टर्नसिप (प्रशिक्षर्थीको रुपमा)पनि गरिन् । यो क्षेत्रमा लागेका मान्छेहरुले हौस्याए । अनि, उनलाई लाग्यो,–नेपालमै गुणस्तरीय वाईन उत्पादन गरेर विक्रि गर्न सकिन्छ । उनी भन्छिन्, ‘सबै भन्दा ठूलो कुरा त पढाईले ठूलो रोल (भूमिका) खेल्यो । यही विषय पढेकाले आँट्न अफ्ठेरो भएन । तर, महिलाले यस्तो यद्योग गर्न लागेको भनेर सुरुमा धेरैले अत्याए । आर्थिक जोहो गर्न पनि कठिनाई भयो । यस्तो उद्योग गर्न लागेको भनेपछि सुरुमा सबैले नाक खुम्च्याउँथे । अहिले भने सुरु जस्तो अफ्ठेरो झेल्नु परेको छैन ।’ अब उनलाई बजारमा जम्नु छ । प्रतिक्रिया राम्रै आएकाले उनको दृढता बढेर गएको छ ।

‘पैँसावाल मान्छे भन्ने भान परेको छ’
कुरा गर्दै जाँदा विनिताले एउटा रमाइलो सुनाइन् । हुन त उनको भोगाईलाई रमाइलो भन्नु वाञ्छनीय नहोला । तर, उनी हरेक कुरालाई सकारात्मक रुपमा लिनुपर्छ भन्छिन्, भने सँधै हँसिलो रहन सुझाव दिन्छिन् । वाईन उद्योग गरिरहेको भन्दा केहीले टन्नै पैँसा भएको मान्छे होला भन्छन् । तर, हामीले निकै कठिन् गरि यो कम्पनी खडा गरेका थियौँ । मान्छेहरुले भनेजस्तो, धेरै पैँसा भएर पोख्नलाई गरिएको उद्योग होइन, उनले भनिन्, ‘खास आफुले पढेको विषय भएर यो इलम गरिएको हो । अर्कोतिर यसको सकारात्मक पक्ष भनेको नेपाली उद्योग तथा श्रम बजारमा महिलाको उपस्थिति बढाउन मद्दत पुग्छ भन्ने हो ।’