काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिलाई सचेत गराएका छन्। सभामुख महराले संसदीय समितिले सरकारको कामको नियन्त्रण नभई निगरानी मात्रै राख्ने भएको बताए ।

संघीय संसद सचिवालयले संसद भवनमा गरेको संसदीय अभ्यास सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले संसदीय समितिहरुले अप्ठयारोमा पार्ने गर्ने गरेको गुनासो प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भनि राखेको सुनाउँदै त्यसो नगर्न सांसद र संसदीय समितिको ध्यानाकर्षण गराए।

‘मलाई प्रधानमन्त्री आफैंले संसदीय समितिहरुले अप्ठयारोमा पार्न थाले भनिरहनु भएको छ’, सभामुख महराले प्रधानमन्त्रीसँग यसबारे भएको कुराबारे जानकारी दिए । उनले अगाडि भने, ‘तर आफूले समितिका सभापतिहरुसँग बसेर कुरा गरौं न त भन्दा तपाई आफैंले कुरा गर्नुस् भन्नु भयो।’

सभामुख महराले संसदीय समितिहरुले सरकारलाई नियन्त्रण गर्ने होइन्, निगरानी राख्ने मुख्य दायित्व भएको उल्लेख गर्दै सरकारलाई ठिक ट्रयाकमा लैजान संविधान, नियम र कानुन अनुसार आवश्यक सुझाव र सल्लाह दिने काम गर्न गर्नुपर्ने पनि स्पष्ट पारे।

सभामुख महराले मन्त्रीहरुसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिइएको भए पनि प्रधानमन्त्रीको स्वास्थ्यका कारण उनीसँगको प्रश्नोत्तर कार्यक्रमलाई भने निरन्तरता दिन नसकिएको पनि स्पष्टिकरण दिए।