हेटौँडा । राक्सिराङ गाउँपालिकाले डेंगु लागेका विरामीलाई यातायात र खानाखर्चबापत तीन हजार रुपियाँ दिने निर्णय गरेको छ । राक्सिराङ गाउँपालिकामा डेंगुको उपचार गर्ने ठूला स्वास्थ्य संस्था नभएकाले मनहरी, हेटौँडा तथा चितवनका अस्पतालमा जानुुपर्ने बाध्यता रहेका कारण यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

साबिक राक्सिराङ, काँकडा, खैराङ र सरिखेत गाउँ विकास समितिहरु मिलेर बनेको राक्सिराङ गाउँपालिकामा साविकका गाविसतर्फ १–१ स्वास्थ्यचौकीहरु रहेका छन् ।

स्वास्थ्यचौकीमा चिकित्सकीय सेवा नहुने भएकाले डेंगुको संक्रमण भएको पहिचान गर्नकै लागि पनि अन्यत्र जानुपर्ने बाध्यता छ । गाउँपालिकाले हरेक स्वास्थ्यचौकीमा ३०–३० थान डेंगु परीक्षण किट पठाएको स्वास्थ्य संयोजक बिजय कापरीले बताए ।

डेंगु किट पठाइएसँगै ४ वटै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएर डेंगु किट परीक्षण तरिका सिकाएर गाउँ पठाइएको कापरीले जानकारी दिए ।

‘अब गाउँमै डेंगु परिक्षण हुन्छ’, स्वास्थ्य संयोजक कापरीले भने–‘रगत परिक्षणपछि डेंगु प्रमाणित भएमा ३ हजार रुपियाँ नगदै दिएर डेंगुका विरामीलाई उपचारका लागि मनहरी, हेटौँडा वा चितवनका अस्पतालहरुमा पठाइने छ ।’

हालसम्म राक्सिराङ गाउँपालिकाभित्र वडा –३ का २ जना मानिसहरुमा मात्रै डेंगु संक्रमण देखिएको उनले जानकारी दिए । स्वास्थ्य केन्द्रमा हालसम्म १८ जनामा डेंगु संक्रमण भएको डा. दीपेन्द्र पौडेलले जानकारी दिएका छन् ।