काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको निर्वाचन असोज १० र ११ गते गर्ने सहमती भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) राष्ट्रिय खेलकुद परिषद् (राखेप) र स्वतन्त्र कमिटिका प्रतिनिधि सहितको बैठकले क्यान निर्वाचनको मिति तय गरेको हो ।

केन्द्रिय निर्वाचनमा प्रक्रियागत समस्या देखिएपछि विवाद समाधानका लागि आईसीसीका प्रतिनिधि छलफल गर्न आईतबार नेपाल आए । आईसीसीका ईमरान ख्वाजा र अमर शेख सहितको टोलीले सोमबार विहान राखेप सदस्य सचिव रमेश सिलवाल र स्वतन्त्र कमिटिका कानुनी परामर्शदाता राजेश्वर श्रेष्ठसंग छलफल गरे ।

त्यही अनुसार बैठकले क्यानको केन्द्रिय निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादीत तरिकाले सम्पन्न गर्ने निर्णय गरेको छ । राखेप सदस्य सचिव रमेश सिलवालले दुवै पक्षको सहमतीमा केन्द्रिय निर्वाचनको मिति तय भएको बताए ।

अक्टोबरमा निलम्बन फुकुवा
राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव सिलवालले आगामी अक्टोबरमा (क्यान)को निलम्बन फुकुवा हुने बताएका छन् । सदस्यसचिव सिलवालले अक्टोबरमा बस्ने अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को बोर्ड बैठकले नेपालको फुकुवा हुने बताए ।

‘आज आईसीसीका प्रतिनिधिसँग छलफल भयो । अक्टोबरको मिटिङबाट फुकुवा हुन्छ, सदस्य सचिव सिलवालले भने, ‘ग्रासरुट क्रिकेटको बारेमा समेत छलफल भएको छ ।’

सिलवालले अक्टोबर १२ र १२ मा आईसीसीको बैठक बस्ने र नेपाललाई त्यहिँ बैठकले फुकुवा गर्ने बताए । सदस्य सचिव सिलवालले सोमबार विहान आईसीसीका पदाधिकारीसँग छलफल गरेका थिए ।