काठमाडौं । राष्ट्रपतिबाट फिर्ता पठाइएको राहदानीसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको मंगलबारको बैठकले राहदानी विधेयक विधायन व्यवस्थापन समितिको संशोधन अनुसार परिमार्जन गरेर पारित गरेको हो ।

यसअघि गएको वैशाखमा राष्ट्रियसभाले विधायन व्यवस्थापन समितिको संशोधन अनुसार विधेयक परिमार्जन नगरीकनै पारित गरेको थियो । त्यसपछि राष्ट्रपतिसमक्ष पुगेको विधेयक पुनर्विचारका लागि फिर्ता आयो ।

फिर्ता आएको विधेयक मंगलबार भने विधायन व्यवस्थापन समितिको संशोधनअनुसार परिमार्जन गरी पारित गरिएको बताइएको छ । मंगलबार परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले राहदानी विधेयक–२०७५ विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । तर, विधेयकमाथि राष्ट्रियसभाका कुनै सांसदले पनि धारणा राखेनन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राहदानी विधेयक–२०७५ माथि विधायन व्यवस्थापन समितिले गरेको संशोधनलाई सजिलै निर्णयार्थ पेश गरे । ती सबै संशोधन राष्ट्रियसभाले सर्वसम्मत पारित गरिदियो ।