काठमाडौं । वुधबार कन्या अर्थात् आश्विन सङ्क्रान्ति । यो दिन आज सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजा गरिन्छ ।

वास्तुशास्त्री, इञ्जिनियर, कालीगढहरू आदिले यो दिवस अझ महत्वकासाथ मनाउँछन् । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।

एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्राध्यापक रामचन्द्र गौतमले बताए ।

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत लिइन्छ ।

त्यही सम्झनामा नेपालका कालीगढहरूले भव्यरूपमा विश्वकर्मा बाबाको पूजा गरी विश्वकर्माको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् ।

यो दिनलाई वास्तुविद्हरूले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् । तन्त्रशास्त्र, धर्मशास्त्र आदि ग्रन्थमा वास्तुका बारेमा उल्लेख गरिएको छ । मण्डप वास्तुमा ६१ र गृहवास्तुमा ८१ देवताको पूजा गर्ने विधि छ । यसको सुरुवात् विश्वकर्माले नै गर्नुभएको शास्त्रीय मान्यता छ ।