बैतडी । डिलासैनी गाउँपालिकाको केन्द्र वडा नम्वर ७– धामीगाउँमा हुनु पर्ने माग गर्दै ११ वटा विद्यालय बन्द गरिएका छन् । विद्यालय बन्द भएपछि पठन–पाठन ठप्प भएको छ ।

पुनः संरचना आयोगले तोकेको डिलासैनी गाउँपालिका केन्द्र वडा नम्बर –७ धामीगाउँबाट अरु नै ठाउँमा सार्ने षडयन्त्र हुन थालेकोले भन्दै स्थानीयले वडा नम्बर –४ मठैराजका ११ वटा विद्यालय बन्द गरेका हुन् ।

डिसासैनी गाउँपालिकाको केन्द्र वडा नम्बर–७ धामीगाउँबाट सार्न नपाईने माग गर्दै स्थानीयवासीको दबावमा अनिश्चिमकालीन शैक्षिक संस्था बन्द भएको वडा नम्बर ४, मठैराजका वडा सदस्य हरिदत्त पन्तले बताए ।

नम्बर –७ मै केन्द्र रहने निर्णय गरिसकेकोेले अनावश्यक रुपमा अन्दोलन गरिएको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिका केन्द्र कायम गर्न गत महिनाको भदौ २५ गते गाउँपालिकाले भूगोल विज्ञ र समाज सास्त्र लगायत चार जनाको विज्ञ टोली मगाएर अध्ययन गर्ने निर्णय मात्र भएको डिलासैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवेव जोशीले जानकारी दिए ।

गाउँपालिकाले केन्द्र कायम गर्न पुनः विज्ञ टोली मगाउने निर्णयप्रति वडा नम्बर –४ र ७ का स्थानीय सशङ्कित बनेपछि आन्दोलनमा उत्रनु परेको वडा नम्बर ४ मठैराज युवा क्लबका अध्यक्ष महेश पन्तले बताए । ४ र ७ का स्थानीयले दुई दिन शैक्षिक संस्था बन्द गर्न आह्वान गरेको मठैराज माविका शिक्षक जीतसिंह बोहराले बताए ।

बोहराले भने, ‘विद्यालय बन्दहुँदा आठसय भन्दा बढी विद्यार्थी अध्यक्षरत रहेका वडा नम्बर ४ मठैराजका दुई वटा माध्यमिक विद्यालय मठैराज मावि हाणाकोट र घटाल माविको पठन पाठन ठप्प भएको छ ।

स्थानीय तहको पुनःसंरचना हुँदा साबिकका कोट्पेटरा, रुद्रेश्वर, मठैराज, डिलासैनी र गोकुलेश्वर गाउँविकास समिति मिलाएर डिलासैनी गाउँपालिका बनाईएको हो । यो गाउँपालिकाको कुल क्षेत्रफल १२५.२८ वर्ग किलोमीटर र जनसंख्या २२ हजार नौं सय २४ रहेको छ ।

डिलासैनी गाउँपालिकाको पश्चिममा दार्चुलाको शैल्यशिखर नगरपालिका, उत्तरमा दार्चुला जिल्लाको मार्मा गाउँपालिका र दक्षिणमा बैतडीको दोगडाकेदार गाउँपालिका, पुर्चौडी नगरपालिका र पुर्वमा बझाङ जिल्लाको बझाङ्ग नगरपालिका रहका छन् ।