काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले विदेशी चासो र स्वार्थकाबीच सन्तुलित नीति अपनाउन नसक्दा देश द्वन्द्वमा फस्नसक्ने बताएका छन् ।

संघीय संसदको बर्खे अधिवेशनको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले चीन, अमेरिका र भारतका आआफ्नै चासो र स्वार्थको टकराब बीच नेपालले सन्तुलित व्यवहार गर्न नसक्दा ‘अफगानिस्तान’ बन्ने खतरा रहेको बताएका हुन् । मुलुक राष्ट्रिय उत्सव एवं संविधान दिवसमा होमिएका बेला उनले यस्तो नैराश्य प्रकट गरे ।

प्रष्ट विदेश नीति अवलम्बन गर्दै सन्तुलित व्यवहार गरेको खण्डमा देश समृद्ध बन्नसक्ने उनको सुझाव छ । ‘भू–राजनीतिक अवस्थिति नेपालको लागि ठूलो अवसर र चुनौती पनि हो । थर्ड वल्र्डबाट फस्र्ट वल्र्डमा जानसक्ने अवसर हामीसँग छ । यसलाई ठीक ढंगले समालेर जानुपर्नेमा हामी चुक्दै त छैनौँ ?’ डा. भट्टराईले भने ।

खासगरी तीन ठूला शक्ति राष्ट्रको नाम नै लिएर नेपालमा उनीहरुले चासो देखाएको तर उनीहरुसँग अलग–अलग व्यवहार गरेर अघि बढ्नुपर्ने उनको धारणा छ ।भट्टराईले भनेका छन्, ‘अमेरिकाले समेत यहाँ चासो राख्दैछ, भारतको परम्परागत चासो छँदैछ । यो चुनौती सँगै अवसर पनि हो । तर अफगानिस्तान बन्ने डर पनि छ । यो विषयमा संसदमै जस्तो बहस हुनुपथ्र्यौ, त्यसो भएन । तीन ठूला शक्तिको ध्यान केन्द्रित भइरहेको छ, स्वार्थ टकराउँदैछ, चुनौतीलाई अवसरमा बदल्नुपर्छ । सबैसँग अलग अलग व्यवहार गर्ने हो । एउटालाई अर्कोको विरुद्ध प्रयोग गर्नु हुँदैन ।’

अहिले देखिएको परराष्ट्र नीतिको आलोचना गर्दै डा. भट्टराईले वामपन्थी विचारधारा बोकेका नेताहरुमाथि व्यंग हाने । विदेश नीतिका सवालमा राजनीतिक विचारधारा भन्दा पनि राष्ट्रिहितलाई महत्वमा राख्नुपर्ने भन्दै ‘वामपन्थी ह्याङओभर त्याग्नुर्ने’ उनको भनाई छ । हिजो लामो समय उग्ररुपमा वाम विद्रोह गरेका बाबुरामलाई अहिले ‘वाम’शब्द कोक्याउन थालेको छ ।

माओकालिन समयको सन्दर्भ कोट्याउँदै उनले ‘रुसले जे गर्‍यो ठीक गर्‍यो’भन्ने वाम मान्यतामाथि पनि आलोचना गरे । समग्रमा उनले नेपालमा ठूला विदेशी शक्तिको चासोलाई अवसरमा बदलेको खण्डमा मुलुकको समृद्धि आउने सुझाव दिए ।