काठमाडौं । नेपालीको महान् पर्व बडादशैं नजिकिदै गएको छ । दशैं नजिकिएसँगै विभिन्न ढंगले दशैंको स्वागत हुन थालेको छ । दशैंलाई गीत–संगीतसँग पनि जोडेर हेर्ने गरिएको छ ।

दशैंलाई लक्षित गर्दै थुप्रै कलाकारले दशैं गीत बजारमा ल्याएका छन् । दशैँकै मेसो पारी गीतकार डा. डीआर उपाध्यायले दशैं गीत सार्वजनिक गरेका छन् ।उपाध्यायको ‘दशैं तिहार आयो’बोलको गीतमा संगीतकार सन्तोष श्रेष्ठ र गायिका सुरुची पन्तले स्वर भरेका छन् । लिरिकल भिडियो सार्वजनिक गरिएको यो गीतमा सन्तोष आफैं संगीतकार हुन् ।

सार्वजनिक गीतले पछिल्लो समय रोजगारीका लागि आफ्नो गाउँघर छोडेर विदेशीएको एक परदेशीको खुशी समेटिएको छ । दशैं गीत भन्ने बित्तिकै भेट्न नपाएका पीडालाई समेटेर गीत निकाल्ने निरन्तरताको उपाध्यायले क्रम भंग गरेका छन् । अर्थात्, उनले विपरीत धारलाई टेकेर दशैँको खुशीयालीको कल्पनामा गीत कोरेका छन् ।

गीतकारले ‘मनमा माया बोकेर आउँला, दशैं तिहार घरैमा मनाउला’ भन्दै परदेशीको खबर आएसँगै घरमा कुरेर बसेका परिवारको खुशी पनि गीतमा अभिव्यक्त गरेका छन् ।