पोखरा । किसानले उत्पादन गर्ने बस्तु सोझै उपभोक्ताले खरिद गर्ने गरी पोखराको बिरौटामा मंगलबारदेखि किसान बजार सञ्चालनमा ल्याइएको छ । किसानले उत्पादन गर्दा लागेको मिहिनेतअनुसार उचित मूल्य पाउन र उपभोक्ताले पनि किसानबाट सोझै खरिद गर्दा सस्तो मूल्यमा बस्तु पाउने गरी पोखराको बिरौटामा पहिलोपटक किसान बजार सञ्चालनमा आएको हो ।

पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा बिरौटास्थित कृषि विभाग कार्यालयको स्वामित्व र खाद्य तथा कृषि सामग्रीले उपयोग गर्दै आएको जमिनमा स्टल बनाइ बजार सञ्चालनमा आएको छ । १० लाख बजेटमध्ये पहिलो चरणमा साढे ६ लाख रुपैयाँको लगानीमा २५ वटा स्टल बनाएर कृषि बजार सञ्चालनमा आएको पोखरा महानगरपालिकाका कृषि तथा पशु महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

किसान बजारमा किसान आफैंले उत्पादन गरेका बस्तु तरकारी, खाद्यान्न, दुग्धजन्य बस्तु, माछा, खसी, बोका, हस्तकलाका सामग्रीलगायत बिक्री वितरणमा राख्न सक्ने व्यवस्था गरिएको उनले बताए । अरु बिचौलिया मात्र होइन किसानबीच नै बिचौलियाको भूमिका हुन नदिन महानगरपालिकाले अरु किसानबाट खरिद गरेर ल्याएको बस्तु पनि किसान बजारमा बिक्री गर्न बन्देज लगाइएको उनले बताए ।

किसानले उत्पादन गरेका बस्तु एक दुई दिन राख्नु परे पनि उचित व्यवस्थापनका लागि कोल्डस्टोरको व्यवस्था महानगरपालिकाले गर्ने पोखरा महानगरपालिकाका कृषि तथा पशु महाशाखा प्रमुख कडरियाले जानकारी दिए । महानगरपालिकाले डिजिटल तराजुलगायत बस्तु बिक्री गर्दा आवश्यक पर्ने सबै सामग्री महानगरपालिकाले नै व्यवस्था गरेको बताए। किसानले आफूले उत्पादन गरेको अर्गानिक तरकारी तथा खाद्यन्न लिएर बिक्रीका लागि आउने र उत्पादन उपभोक्तालाई बिक्री गर्ने वातावरण बजारमा हुने उनले सुनाए । किसानले थोक विक्रेतालाई बिक्री गर्दाभन्दा २० देखि ३० प्रतिशत बढी मूल्य पाउने र उपभोक्ताका लागि थोक विक्रेताबाट किन्ने मूल्यभन्दा सस्तोमा मूल्य निर्धारण गरिने उनले बताए ।

किसानले उत्पादन गरेका बस्तु सोझै उपभोक्ताकोमा पुरयाउन पहिलोपटक बिरौटामा सञ्चालनमा आएको किसान बजारमा महानगरपालिकाका वडा नम्बर २१, २२, ३३ र १७ का किसानले उत्पादन गरेका वस्तु राख्ने व्यवस्था गरिएको हो । महानगरपालिकाका विभिन्न स्थानमा यस्ता किसान बजार सञ्चालनका लागि यस वर्ष एक करोड रुपैयाँ बजेट छुट्याएको छ ।

पोखराको लामाचौर, काहुँखोला, लेखनाथको तालचोकलगायत क्षेत्रमा छिट्टै नै किसान बजार सञ्चालन गरिने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले बताए । किसानलाई कृषि उत्पादनमा लाग्न प्रेरणा दिन र उपभोक्तालाई एक दुई पैसा भए पनि सस्तो र विषादीमुक्त गर्ने वातावरण बनाउने उद्देश्यले किसान बजार स्थापना गरिएको महानगर प्रमुख जीसीले बताए ।

किसान बजार सञ्चालनले होलसेलर व्यवसायीलाई बिक्री गर्दाभन्दा धेरै राम्रो मूल्य पाइएको पोखरा २२ पुम्दीभूम्दीकी किसान अग्निमाया बरालले बताइन् । किसान बजारको कारणले किसानले उत्पादन गरेअनुसार राम्रो मूल्य पाउने र उपभोक्ताले पनि सस्तो मूल्य पाउने भएकाले किसानको हितमा हुने यस्ता किसान बजार अन्यत्र पनि स्थापना गर्नुपर्ने उनले सुझाइन् ।