काठमाडौँ । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगमा सरकारी जग्गा अतिक्रमण सबैभन्दा बढी काठमाडौँ उपत्यकामा भएको उजुरी परेको छ । आयोगले जग्गा अतिक्रमणसम्बन्धी उजुर आह्वान गरेपछि यस्तो उजुरी परेको हो ।

जनकपुर, नवलपरासी, काभ्रेपलाञ्चोक लगायतका जिल्लाका पनि छन् । तर सबैभन्दा बढी काठमाडौँ उपत्यकाबाट उजुरी परेको छ । आयोगले उजुरी परेको निवेदनका आधारमा मालपोत कार्यालयमा रहेको जग्गा स्रेस्ता झिकाउने, मिसिल कागजात झिकाउने काम सुरु गरेको छ । आयोगका सचिव एवं भूमिसुधार तथा व्यवस्था एवं सहकारी मन्त्रालयका सहसचिव शङ्कर थापाका अनुसार, हालसम्म काठमाडौँ उपत्यकाका १५५ स्थानका जग्गा अतिक्रमण गरिएको उजुरी परेको छ ।

जनकपुरमा गुठी जग्गा भने नेपाल सरकारकै निकायले पचासौँ बिगाहा अतिक्रमण गरेको उजुरी परेको छ । गुठी संस्थानले यसको जानकारी आयोगलाई पठाएको छ । आयोगसमक्ष संस्थानले विभिन्न समयमा जग्गा अधिग्रहण गर्दा सरकारले तिर्न बुझाउन बाँकी ३१ अर्ब रुपियाँ बक्यौताका बारे पनि आयोगलाई जानकारी दिइएको छ । जेठ २० गतेदेखि काम थालेको आयोगमा आएका उजुरी गम्भीर प्रकृतिका रहेका छन् । केही संस्थागत र अन्य व्यक्तिगत उजुरी छन्  ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीका अनुसार यसै सेरोफेरोमा मौजे पशुपतिनाथ जानिएको तर हराइरहेको जग्गाको पनि यही सेरोफेरोमा अध्ययन थालिएको छ । सरकारले जग्गा अधिग्रहण गर्ने गरेको सडक आयोजना, विद्युत्, खानेपानी लगायतका सरकार मातहतका कार्यालयको यस विषयको काम कारबाहीबारे जानकारी दिन आयोगले सबै मन्त्रालयलाई पत्राचार गरिसकेको छ । आयोगका सचिव एवम् भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव शङ्करबहादुर थापाका अनुसार गुठी जग्गा मिचिएको बारे हालसम्म परेको उजुरी थोरै छ ।

गुठीले पठाएन विवरण
मौजे पशुपति जनिएका तर हराइरहेका पशुपतिनाथको २३१ रोपनी जग्गाको विषयमा पनि यही सेरोफेरोमा अध्ययन थालिएको पशुपति क्षेत्र विकास कोषका अधिकारीले जानकारी दिएका छन् । अध्ययनपछि यसको विवरण आयोगमा प्रस्तुत हुन्छ । शङ्खमूल, पाटन दरबारस्थित ठूलो घण्ट आसपासका गुठी जग्गा मैतीदेवी मन्दिरका जग्गा लगायतका देवस्थलका जग्गाको पनि यसै संस्थानद्वारा अध्ययन थालिएको छ ।

आयोगका काम कारबाही व्यापकताका साथ अगाडि बढ्छ भन्ने आशा आयोगले गरेको छ । ‘‘मुलुकका हरेक स्थानमा आयोगले छानबिन गरिरहेको बारे सूचना प्रेषण गरिरहेका छौँ’, सचिव थापाले भने, सरकारी निकायलाई पनि पत्राचार भइरहेको छ ।

गुठी संस्थानको अभिलेख अनुसार काठमाडौँमा मात्र लालमोहर सनद सवालअनुसार आधा दर्जनजसो गुठीका पोखरी मिचिएको वा लोप भएको अवस्था छ भने त्रिपुरेश्वरमा ११ नं. वडा कार्यालय र ट्राफिक प्रहरी कार्यालय, कमलपोखरीमा वडा प्रहरी प्रभाग र युवा क्लब, नन्दीकेश्वर वहालमा स्थानीय क्लब, वनकालीमा वनकाली धर्मशालालगायतका गुठी सम्पत्ति अर्कैको भोग चलनमा रहेको संस्थानका उपप्रशासक जयप्रसाद रेग्मीले जानकारी दिए ।