काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले आफू कास्कीबाट चुनाव नलड्ने उदघोष गरेका छन् । शनिबारको सचिवालय बैठकमै आफुले कास्कीमा रिक्त प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी नदिने जानकारी गराइसकेको भनी नेता गौतमले एउटा लेखोट नै जारी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् उनले आफ्नो निधो सार्वजनिक गरेका हुन् । नेकपाभित्र यसअघि कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा गौतमलाई उमेदवार बनाउने चर्चा चलेको थियो । त्यो निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । उनी पर्यटनमन्त्री समेत थिए । नेता गौतमले कास्कीकै स्थानीय मान्छेलाई उमेदवार बनाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा वामदेवले राखेको लेखोट
जानकारीका लागिः
मेरा समस्त शुभचिन्तक महानुभावलाई जानकारीका लागि–आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।

यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया( १ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो । तर मलाई विश्वास छ म भन्दा अरुकोही स्थानीय कमरेड उठनु हुदा सहजै विजय प्राप्त गर्र्न सक्नु हुनेछ। कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु ।
वामदेव गौतम
४ आश्विन २०७६