बारा । मध्यतराईका बारा, पर्सा, रौतहतलगायतका जिल्लामा जितिया पर्व हर्षोलासपूर्वक मनाईंदैछ । मधेसी, थारु र मैथिली समुदायका महिलाहरुले आ–आफ्ना सन्तानको दिर्घायु तथा पितृहरुको सम्झनाका लागि मनाइने यो पर्व शनिबारदेखि विधिवत रुपमा सुरु भयो ।

आश्विन कृष्ण सप्तमी तिथिको आगमनसँगै यो पर्वमा उपवास सुरु हुने र अष्टमीको दिनभरी पर्व मनाइने तथा नवमी तिथि आगमन हुनासाथ पारण गरे सकेपछि ब्रत समापन हुनेछ । सोमबार विहानसम्मको अवधिमा उपवासमै बस्नुपर्ने हुन्छ ।

व्रत सुरु हुनु अघिनै नै व्रतालु महिलाले भोजन गरिसक्नुपर्ने हुन्छ । त्यसपछि, पानी पनि पिउन नपाउने, थुक पनि निल्न नपाउने र नवमी तिथि अर्थात् नवमी सकिएपछि मात्र भोजन गरेर ब्रत सम्पन्न गर्छन् । हिन्दू धर्मावलम्बीले उपवास गर्ने पर्वहरुमा सबैभन्दा बढी समयसम्म उपवासमा बस्नुपर्ने छठ र यो ब्रत मात्र हो, सो अवधिमा कडा बन्देजका कारण यो पर्वलाई सबैभन्दा कठोर पर्वका रुपमा मान्निछ ।

यसपर्वमा ओटघनको निकै महत्व हुन्छ । पर्वको तिथिको समय अगावै अर्थात् सप्तमी तिथिको उत्तराद्र्धमा खासगरी मध्यरात्रिको समयमा व्रतालु महिलाहरुका साथै परिवारका सम्पूर्ण सदस्यहरु दही–च्युरा, मिठाई, फलफूल लगायतका भोजन सामग्री खाने गरिन्छ । यसलाई ‘ओटघन’ भनिन्छ ।

वर्षमा एक दिन मध्यरात्रिको समयमा मिष्ठान भोजन गर्न पाइने भएकाले बालबालिकालाई ओटघन प्रति बढी चासो रहन्छ । यी दुवै समुदायमा यो पर्वको अत्यधिक महत्व छ । अति नियम निष्ठाका साथ मनाइने यसपर्वमा सप्तमी तिथिका दिन व्रतालु महिलाहरुलाई नदी, पोखरीमा स्नानगरी सूर्यदेवलाई जल अर्पणगरी जिमूतवाहन देउताको व्रतको सङ्कल्प गर्छन् ।

यो पर्व (सोह्श्राद्ध) पित्रपक्षमा पर्छ । तसर्थ, व्रतालु महिलाहरुले आ–आफ्ना सन्तानको र्दिघायुका साथै दिवङ्गत भएका सासू ससुरा तथा अन्य पितृहरु मोक्ष प्राप्तिका लागि घरका बुढापाका महिलाहरुले गर्दै आएको आ–आफना नियम अनुसार कोदोको रोटी साथै माछा र अरुवा अरुवाइन चढाउनुका साथै खाने गर्छन् । कलैया उपमहानगरपालिकाका पुरोहित हरिकृष्णा तिवारीले बताए ।

पार्वतीले महादेव समक्ष यस्तो कुन व्रत वा तपस्या गर्दा सन्तानको अकाल मृत्यु हुँदैन् भनी जिज्ञासा राख्नुभएको तथा अष्टमी तिथिको उपवास बस्ने जितिया पर्वको कथा भविष्य पुराणमा उल्लेख गरिएको छ ।

यस विषयमा महादेवले जिमूतवाहन देउतालाई पूजा गरेर प्रसन्न पारिएमा सन्तानको अकाल मृत्यु हुँदैन् भनेर पार्वतीलाई जानकारी गराउनु भएको सो पुराणमा उल्लेख गरिएको छ । आश्विन कृष्ण अष्टमी तिथिमा व्रत सुरु गर्नुपर्ने, कुशको मूर्ति बनाएर जिमूतवाहनको पूजा गर्नुपर्ने हुन्छ ।

यस क्रममा कुशको मूर्ति कलशमा स्थापनागरी त्यसपछि, आँगनमा सानो पोखरीको आकृति निर्माण गरेर डिलमा एउटा पकरीको रुखको हाँगा गाड्नुपर्दछ । त्यसपछि, हाँगामाथि चिलको आकृति र सोको मुनि एउटा स्यालनीको आकृति बनाएर विधिपूर्वक पूजा गरेको खण्डमा सन्तानको बिग्रेको ग्रह–गोचर सही हुने र अकाल मृत्युबाट जोगिन्छ भनेर पार्वतीलाई महादेवले जानकारी गराएको पुराणमा उल्लेख छ ।

यस पर्वको खास महत्वका रुपमा जितिया पर्वको कथा पनि हो । टोल–टोलकी व्रतालु महिलाहरुका साथै अन्य महिला एक ठाउँमा भेला भएर प्रेमपूर्वक कथा श्रवण गर्छन् ।

यसको कथाको मुख्य उद्देश्य जितियापर्व विधिपूर्वक गर्ने शीलावतीको छोरा जीवित रहन्, शीलावतीकी कान्छी बहिनी कर्पूरावतीले व्रत भङ्ग गरेका कारण एउटा पनि छोरा जीवित नरहनु लगायतका विषयमा जानकारी गराएर नियमनिष्ठाका साथ व्रत सम्पन्न गराउनेतर्फ रहेकोे महागढीमाई नगरपालिकाका ब्रतालु चम्पादेवी कुम्हैनले बताए ।

यो पर्व विधिपूर्वक गर्नुपर्ने र यो पर्व खण्डित गर्न नपाइने भएकाले बाँचुन्जेलसम्म महिलाले सन्तानको दिर्घायुका लागि यो पर्वलाई निरन्तरता दिने बताएका छन् ।