लमजुङ । फेरि पनि प्रसंग लमजुङ बेसीशहरकै । नाम बेसीशहर । तर, खबर पढ्नु सुन्नु पर्ने बेस नलाग्ने । अघिल्ला समाचारमा हामीले बेसीशहरमा रहेको एउटा माध्यामिक विद्यालयको ‘पुराण’ उतारेका थियौँ ।

मुलुक संघीयतामा गएपछि अहिले स्थानीय सरकारले भन्न थालेका छन्, विकासको पहिलो आधार शिक्षा हो । तर, बेसीशहरको जनविकास माध्यामिक विद्यालयबारे जे सुनियो । त्यो  चाहिँदाे काम थिएन, नचाहिँदाे काम थियो । सार्वजनिक सम्पततिको दुरुपयोग मात्रै थिएन, त्यो । शैक्षिक गुणस्तर वृद्धिका लागि तगारो र सामाजिक उत्तरदायित्वको बर्खिलाप थियो ।

फेरि कुरा आएको छ,–मान्छेको जीवनसँग जोडिएको अति संवेदनशील क्षेत्र मेडिकल व्यवसायको । क्या गज्जब काइदा । आफ्नो मेडिकलको आफैँ अनुगमन । सदरमुकाम बेसीशहरका मेडिकल सञ्चालकले आफ्नो मेडिकल पसल आफैं अनुगमन गरेको भेटिएको छ ।

दशैं तिहारलगायत विभिन्न चाडपर्व नजिकिएपछि बेसीशहर नगरपालिकाले बजार अनुगमन गरिरहेको छ । तर, अचम्मको कुरा के भने ? नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख परमेश्वर पिया र उनकी आमा धनुदेवी पियाको आ–आफ्नै मेडिकल छ । परमेश्वरले नगरपालिकाबाट र आमा धनुदेवीले लमजुङ उद्योग वाणिज्य संघबाट अनुगमनको जिम्मेवारी पाए । अनि, गरे आफ्नो पसलको अनुुगमन आफैँ ।

बेसीशहर नगरपालिका र उद्योग वाणिज्य संघले मेडिकल सञ्चालकलाई अनुगमनको जिम्मा दिएपछि सर्वसाधारण अच्चम पर्ने भइहाले । स्थानीय कुमार भण्डारी भन्छन्, ‘आफ्नो पसल आफैं अनुगमन गर्नु भनेको आफ्नो हात जगन्नाथ भनेजस्तै भयो नि ! यो अनुगमनबाट उपभोक्ताले के अपेक्षा राख्ने ? औपचारिकताको पनि हद हुन्छ नि ! अति त नगर्नु ।’

नगरपालिकाले बेसीशहरमा रहेका औषधी पसल, पोलिक्लिनिक तथा निजी अस्पतालको अनुगमन गरेको छ । अनुगमन टोलीको नेतृत्व आफै मेडिकल सञ्चालक रहेका (नगरपालिका स्वास्थ्य शाखा प्रमुख) परमेश्वर पियाले गरे । जुन टोलीले शेरा, भिमसेन स्थानचोक, पुरानोे बैंक चोकलगायत १६ वटा पसल अनुगमन गरेको छ ।

अनुगमन टोली सदस्य शुसीला श्रेष्ठले अनुगमनका क्रममा औषधी पसललाई म्याद गुज्रेका औषधी नबेच्न, व्यवसाय दर्ता सम्बन्धी कागजात ग्राहकले देख्ने गरी राख्न, ग्राहकलाई अनिवार्य बिल दिन, प्रतिवन्धित औषधी डाक्टरको सिफारिसमा मात्रै बिक्रि वितरण गर्न र तोकिएको ढाँचामा रेकर्ड राख्न निर्देशन दिइएको बताइन् । तर, अनुगमन टोली संयोजकले आफ्नै पसलको अनुगमन गर्दा चाँहि कसलाई निर्देशन दिए होलान् ? आफैँले आफैँलाई ??