विराटनगर । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमनत्रीले चाहेको बेला मन्त्रीमण्डल हेरफेर हुनसक्ने भन्दै यसबारे प्रश्न नगर्न पत्रकारलाई आग्रह गरेका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारसँग प्रचण्डले वर्तमान सरकारको मन्त्री फेरवदलको प्रश्नले आफुलाई हैरान पारेको सुनाए । र, त्यही मौकामा उनले यसबारे प्रश्न नगर्न पत्रकारलाई आग्रह गरेका हुन् । उनले ‘मलाई मन्त्री मण्डल फेरबदलबारे नसोध्नुहोस प्लिज यो प्रश्नले मलाई हैरान पारेको छ ।’

अर्को प्रसंगमा उनले दुईतिहाईको सरकारले जुन गतिमा काम गर्नु पर्ने थियो त्यस्तो हुन नसक्दा पार्टीको नेतृत्व तह पूर्ण सन्तुष्ट हुन सकेको छैन, भने । छिमेकीसँगको सम्बन्ध, पाइपलाइन र आर्थिक वृद्धिदरलगायतका काम सरकारले सफलताका साथ गरेपनि अन्य काममा गति नआएको उनले स्वीकार गरे ।

नेपालको आर्थिक विकासको दर बढेकोले निराश हुनुपर्ने अवस्था नरहेको भन्दै उनले दुई तिहाईको सरकारले चाहे जसरी काम गर्न नसकेकोले पार्टीको नेतृत्व तहमा चिन्ता बढ्न थालेको बताए ।