एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका पुगेर परराष्ट्र नीति विपरीत ट्रम्पको चुनावी प्रचार गरिरहेको आरोप लागेको छ । भारतीय कांग्रेसका नेता आनन्द शर्माले प्रधानमन्त्री मोदीले परराष्ट्र नीतिविपरीत अमेरिकामा राष्ट्रपतिको चुनावी प्रचारमा लागेको आरोप लगाएका हुन् । शर्माले मोदी चर्चामा आउन अमेरिकामा चुनाव प्रचारमा लागेको बताएका छन् ।

विपक्षी दलको नेताले आरोप लगाइरहेकै बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि टेक्ससमा आयोजना गरिएको कार्यक्रमा सहभागि भएका छन् । विदेशी नेताको स्वागतका लागि अमेरिकामा बिरलैमात्र हुने यस्तो कार्यक्रममा राष्ट्रपति ट्रम्प सहभागी भएका हुन् । कार्यक्रममा ट्रम्प र मोदी दुवैले एक अर्काको प्रसंशा गरे ।

५० हजारभन्दा बढी भारतीय मुलका अमेरिकी नागरिक र गैरआवासीय भारतीय ह्युस्टन शहरको एनआरजी स्टेडियममा भेला भए । तर, स्टेडियम बाहिर भने हजारौंले प्रधानमन्त्री मोदीको विरोध गरे । उनीहरुले कश्मिर प्रकरणतर्फ लक्षित गर्दै सरकारले भारतमा रहेका अल्पसंख्यक समुदायको मानवअधिकार हनन् गरेको आरोप लगाए ।

तर, भारतीय प्रधानमन्त्री मोदीले भारत प्रशासित कश्मीरको हितका लागि संविधानको आंशिक स्वायत्तता खारेज गरेर नयाँ व्यवस्था लागू गरेको बताएका छन् ।