काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २७औँ वार्षिक साधारणसभामा बोल्दै उनले यस क्षेत्रका समस्या समाधानका उपायसहित आउन व्यवसायीलाई आग्रह गरे ।

उनले भने, “स्पष्ट अवधारणासहित सरकारसँग आउनुहोस् । सरकारले ती समस्याको समाधान गर्नेछ ।” सरकारले गरेका केही नीतिगत व्यवस्थाले व्यवसायीलाई अप्ठेरो पारेको भए त्यसको समाधानका लागि छलफल गर्न सकिने उनले बताए ।

“यस क्षेत्रका समस्या बुँदागत रुपमा ठाउँमा राखाै‌, म स्वागत गर्न चाहन्छु । ती समस्या समाधान गर्न सरकारले पूराका पूरा सहयोग गर्नेछ”, उपप्रधानमन्त्री पोखरेलले भने । वैदेशिक रोजगारलाई मर्यादित, व्यवस्थित बनाउन जरुरी रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा देखा परेका समस्या सम्बद्ध सरोकारवालासँगको छलफलमा टुङ्ग्याउनुपर्ने बताए ।

वैदेशिक रोजगारीको प्रभाव र परिणाम अत्यन्त ज्यादा रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोरखेलले रोजगारीले नेपालको अर्थतन्त्र, सामाजिक, सांस्कृतिक तथा व्यक्तिको जीवनमा पारेको प्रभावका बारेमा छलफल गर्न आग्रह गरे ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले व्यवसायीलाई दुःख दिने सरकारको नियत नरहेको प्रष्ट पार्दै सरोकारवाला निकायको तर्फबाट कुनै कमजोरी भए तत्काल सुधार गरिने प्रतिबद्धता व्यक्त गरे ।