काठमाडौं । यो पल्ट फूलपातीका दिन जीवित देव गणेश र भैरव फेर्ने तयारी छ । गुठी संस्थानमा भएको जीवित देवी कुमारी, देव गणेश र भैरव छनोट समितिको बैठकले फूलपातीका दिन अहिलेका गणेश र भैरव परिवर्तन गरी नयाँ प्रतिस्थापन गर्न निर्णय गरेको छ । यसको छनोटको जिम्मा शाक्य महाविहार संघलाई दिइएको छ ।

संघले काठमाडौंका १८ वटा बज्रयानी महाविहारअन्तर्गत् रहेको शाक्य कुलपुत्रहरुबाट तीनदेखि पाँच वर्षका बालक गणेश र भैरव छनोटका लागि आजदेखि आह्वान गर्ने जनाएको छ । असोज १४ गतेभित्र आएका नाम र चिनाबाट संघले सुरुमा गणेश र भैरवका लागि तीन–तीनजना छनोट गर्नेछ ।

त्यसमध्येबाट ज्योतिषलाई चिना देखाएर ३२ लक्षणयुक्त बालक गणेश र भैरवका लागि गुठी संस्थान, राजगुरु, तलेजुका मूल पुजारी, इन्द्रजात्रा व्यवस्थापन समिति, कुमारीघरका चिताइदार, वर्तमान तथा भूपू जीवित गणेश भैरव संरक्षण समितिलगायतको छनोट समितिले छनोट गर्ने जनाइएको छ ।

गणेश र भैरवका लागि छानिएका दुई बालकहरुलाई बज्रयानी, वैदिक र तन्त्र परम्पराअनुसार फूलपातीका दिन तलेजुका मूल पुजारीले नयाँ जीवित देव गणेश र भैरवकारुपमा प्रतिस्थापन गर्नेछन् ।

अहिलेका गणेश १४ वर्षीय संवेग शाक्य र भैरव १४ वर्षीय रोजन शाक्यको उमेर किशोरावस्थामा पुग्न लागेकाले नयाँ गणेश र भैरव परिवर्तन गर्न लागिएको हो । आउँदो वर्ष कुमारी जात्राका दिन नयाँ गणेश र भैरवको रथयात्रा हुनेछ ।