काठमाडौं । सेप्टेम्वर २८ अर्थात् रेविजविरुद्धको दिवस । फ्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरको निधन भएको दिन । रेविजविरुद्धको खोप पत्ता लगाई थुप्रैको ज्यान जोगाउन गरेको अध्ययन, अनुसन्धानका लागि उनको सम्झना गरी यो दिन रेविजविरुद्धको दिवस मनाइँदै छ । यो वर्ष ‘रेविजविरुद्धको दिवस’को नारा ‘जनचेतना, खोप र उन्मुलन’ भन्ने रहेको छ ।

सेप्टेम्वर २८ का दिन विश्वभर ‘रेविजविरुद्धको दिवस’को दिवस विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । यो, रेविजको रोकथाम तथा यसबाट बच्न अपनाइने सुरक्षाका उपायबारे जानकारी आदान प्रदान गरेर मनाइने दिन हो ।

उत्तर पूर्वी अफ्रिकन क्षेत्रमा रहेको इजिप्ट सभ्यतामा आजभन्दा करिब ४३०० वर्ष अघि रेविज रोगका बारेमा थाहा भएको उल्लेख छ । अर्कोतर्फ दार्शनिक एरिस्टोटलले आजभन्दा २३०० वर्षअघि लेखेको नोटमा पनि रेविज लागेको कुकरले मान्छेलाई टोकेमा अथवा त्यस्तो कुकुरले अन्य जनावरलाई टोक्दा ती जनावरसँगको सम्पर्कमा मान्छे आए रेविज लाग्ने तथ्य उल्लेख छ । रेविज लागेका जनावरको ¥यालबाट सर्ने यो रोगले मानव जीवन र चिकित्सा विज्ञानलाई चुनौती दिएको छ ।

पछिल्लो समय आधुनिक चिकित्सा पद्दति र भ्याक्सिनले त्यो चुनौतीलाई सहज गरिदिएको छ । अहिले प्रतिरोधात्मक खोप लगाएर अथवा त्यस्ता जनावरले टोकेपछि औषधीको मात्रा पूरा गरी वा सुई लगाई यो रोगलाई समयमै निको पार्न सकिन्छ । तर, ढिलो भएको खण्डमा यो प्राणघातक समेत हुन सक्ने विशेषज्ञहरु बताउँछन् ।